मेयर शाक्यले गरे दुई घरको शिलान्यास
काठमाडौं महानगर पालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ र कामपा २२ वडा भवनको शिलान्यास गर्नुभएको छ ।
२०७२ सालको भूकम्पले क्वाःपाःद्यःछेँ जीर्ण बनेको थियो । ‘संकटा संरक्षण समिति’ ले ९९ लाख ३८ हजार ६२२ रुपैयाँ लागतमा यो घर निर्माण गर्ने भएको छ ।
१७ औं शताब्दीमा ठूलो आँगनसहित बहाल शैलीमा निर्माण भएको यो द्यःछेँ इ.सं. १९३४ मा पुननिर्माण भएको अभिलेखमा देखिन्छ । बुद्ध धर्माबलम्बीले सञ्चालन गर्ने धार्मिक गतिबिधिसँग यो भवन सम्बन्धित छ । भवनभित्र र बाहिर बुद्धका मूर्तिहरु राखिएका छन् । ३ तले यो भवन नेपाली शैलीको घर हो । यसलाई मौलिक निर्माण सामाग्रीको प्रयोग गरेर बनाइने भएको छ ।

यसैबीच कामपा २२ वडाको कार्यालय भवन काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ र वडाध्यक्ष चिनीकाजी महर्जनले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।
भवन निर्माणको लागत इष्टिमेट ४ करोड १९ लाख ७३ हजार २३३ रुपैयाँ १८ पैसा रहेको छ ।
खरिद प्रक्रियामा आएका प्रतिस्पर्धीमध्ये के एण्ड के. जी. रमिता कन्स्ट्रक्सन प्रा.लि.ले ३ करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण कबोल गरेपछि भवन निर्माणको जिम्मा उसैलाई दिइएको छ । भवन २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
कामपा २२ वडाको भवन ६ जना व्यक्ति अट्ने लिफ्टसहितको ६ तलाको हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार ३ आना जग्गामा निर्माण हुने भवन ६ हजार ३१६ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । पाँचौं तलासम्म भवनका हरेक तलामा ४ वटा कोठा हुनेछन् भने माथिल्लो तलामा बैठक कक्ष हुनेछ ।








