जुडोका खेलाडीहरुलाई सिटी स्क्वायरको सहयोग

आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने एसियाली खेलमा सहभागी हुने जुडोका खेलाडी तथा प्रशिक्षकलाई सिटी स्क्वायरको तर्फबाट सहयोग प्रदान गरिएको छ ।
जुडो प्रशिक्षण केन्द्र दशरथ रंगशालामा सिटी स्वायरका प्रतिनिधि रवि स्यावाले खेलाडीहरुलाई नगद सहयोग उपलब्ध गराई उहाँहरुलाई जीतको शुभकामना दिनुभएको थियो ।
नेपाल जुडो महासंघका उपाध्यक्ष एवम् एसियन गेम्सको लागि जुडो खेलका व्यवस्थापकका साथै कीर्तिपुरका पूर्वमेयर रमेश महर्जनको समन्वयमा खेलाडीहरुलाई सहयोग प्रदान गरिएको थियो ।
सेप्टेम्बर ३० देखि हुने जुडोका खेलहरुमा सहभागीताको लागि नेपालबाट महिलातर्फ ५२ केजी मुनि देवकी माया श्रेष्ठ, ७० केजी मुनि पुनम श्रेष्ठ र ४८ केजी मुनि निशा श्रेष्ठले सहभागिता जनाउँदै छन् भने पुरुषतर्फ ९० केजी मुनि सुजन गुरुङ, ६६ केजी मुनि विशेष विक र ६० मुनि विकास विकले सहभागिता जनाउँदैछन् । एसियन गेम्सका लागि सुनिता मगर ताम्राकारले प्रशिक्षकको जिम्मेवारी सम्हालेकी छिन् ।
जुडो खेलाडीहरुमा पुनम श्रेष्ठ १३ औं सागका स्वर्णपदक विजेता हुन् । उनले सन् २०१८ मा जाकार्तामा भएको एसियन गेम्समा सातौं स्थान हासिल गरेकी थिइन् भने सन् २०२३ मा बिस्केक एसियन ओपनमा कास्यपदक जितेकी छिन् ।
पुरुष जुडोतर्फका भरपर्दा खेलाडी विकास विक ६० केजीमुनिको विधामा प्रतिस्पर्धा गर्नेछन् । हाङ्झाउमा आयोजित १९औँ एसियन गेम्समा उनले राउन्ड अफ ३२ मा कम्बोडियाका खेलाडीलाई इप्पोनमार्फत पराजित गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रदर्शन गरेका थिए ।
युवा तथा उदीयमान खेलाडी निशा श्रेष्ठ ४८ केजीमुनिको विधामा नेपालको प्रतिनिधित्व गर्दैछिन् । उनले सन् २०२५ मा बंगलादेशमा सम्पन्न बीकेएसपी कप इन्टरनेसनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । निशाले एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा समेत सहभागिता जनाइसकेकी छन्।
५२ केजीमुनिको विधामा प्रतिस्पर्धा गर्ने देवकी माया श्रेष्ठ लामो समयदेखि जुडोमा सक्रिय खेलाडी हुन्। खेलाडीका साथै सहायक प्रशिक्षकका रूपमा समेत योगदान दिँदै आएकी देवकीले थाइल्याण्ड, लेबनानलगायत देशमा आयोजित एसियन जुनियर जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् ।
विशेष विक नेपाली पुरुष जुडोका युवा प्रतिभा हुन् । ६६ केजीमुनिको विधामा प्रतिस्पर्धा गर्ने उनले सन् २०२५ मा बंगलादेशमा आयोजित बीकेएसपी कप आमन्त्रित अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । विभिन्न संस्करणका जुनियर एसियन च्याम्पियनसिपमा सहभागिता जनाइसकेका विशेषसँग अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको राम्रो अनुभव छ ।
९० केजीमुनिको तौल समूहमा नेपालका तर्फबाट सुजन गुरुङले प्रतिस्पर्धा गर्नेछन् । घरेलु प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका सुजन शारीरिक रूपमा बलिया र आक्रामक शैलीका खेलाडीका रूपमा परिचित छन् । एसियन गेम्सबाट अन्तर्राष्ट्रिय खेलमा पाइला टेक्दै उनले आफ्नो अनुभव र शक्ति उपयोग गर्दै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध