दाेश्राे महिला गुंलाबाजा प्रदर्शनी हुने

यही असाेज २४ गते काठमाडाैं महानगरपालिका १८ वडाकाे  आयाेजनामा दाेश्रो महिला गुंलाबाजं ब्वज्या (बाजा प्रदर्शनी) हुने भएको छ ।
ङत तुलाधर समिति, गुँलाबाजं उपसमितिको व्यवस्थापनमा हुने कार्यक्रमका बारेमा जानकारी दिन आईतवार काठमाडौंको यल्लो पगोडामा एक पत्रकार साक्षात्कार आयोजना गरिएको थियोे ।


वडा अध्यक्ष न्हुछेकाजी महर्जनको सभापतित्वमा भएको पत्रकार साक्षात्कारमा मन्तब्य राख्नु हुँदै उहाँले
काठमाडाैं महानगरपालिकामा २५ वटा गुंलाबाजा समूहहरू दर्ता रहेकोमा महिलाहरूले बाजा बजाउने संख्या कम रहेकाे हुँदा बढाउन पहल गर्नुपर्ने बताउनु भयाे । उहाँले अमूर्त सम्पदा संरक्षणले पहिचानको संरक्षण हुने भएकाेले यस्ताे सम्पदाहरूकाे संरक्षणमा कामपा १८ वडा लागिरहेकाे बताउनुहुँदै मूर्त सम्पदा बनाउँदा देखिने तर अमूर्त सम्पदामा गरिएकाे कामकाे अभिलेख नहुने भएकाेले प्रेस साक्षात्कारकाे आयाेजना गरी जानकारी गराइएकाे र सञ्चार माध्यमहरूबाट संस्कृतिकाे संरक्षणका लागि सहयाेग गरीदिन आग्रह गर्नुभयाे ।

उहाँले महानगरले बाजागुरूहरूलाइ प्राेत्साहन गर्ने उद्देश्यले गुरूभत्ता प्रदान गर्दै आएकाेमा महिला गुरूलाइ पनि प्राेत्साहन गर्ने उद्देश्यका साथ गत वर्षबाट एक महिला गुरूलाइ पनि भत्ता दिइएकाे पनि साे अवसरमा जानकारी दिनुभयाे । महिलालाई दिइने शिक्षाले समाज शिक्षित हुने तथ्य उजागर गर्दै उहाँले महिलालाइ दिइने सांस्कृतिक बाजागाजाकाे प्रशिक्षणले पनि संस्कृति सम्पदा संरक्षणामा महत्वपूर्ण योगदान दिने बताउनुभयाे ।
गत वर्ष १२ वटा समूहकाे सहभागिता रहेकाेमा यस वर्ष २५ वटै समूहबाट सहभागिताको आह्वान गर्नुहुँदै उहाँले सांस्कृतिक प्रतिभाकाे प्रदर्शनले नयाँ पुस्तालाइ आकर्षित बनाउन सकिने पनि बताउनुभयाे ।

अन्तमा उहाँले सामाजिक राजनीतिक र आर्थिकका साथै अन्य रूपमा पनि ऐक्यबद्ध भएर लागेकाे खण्डमा मात्रै नेपाल र नेपाली संस्कृतिकाे उत्थान हुने पनि जिकिर गर्नुभयाे ।

कार्यक्रममा प्रदर्शनीमा सहभागिताको नियम ङत तुलाधर समिति गुंलाबाजं उपसमितिका अध्यक्ष पूर्ण रत्न तुलाधरले सुनाउनुहुँदै प्रेस रिलिज पनि वाचन गरेर सुनाउनुभएकाे थियाे ।

उहाँले पहिले पहिले महिलाले नासः द्यः (नृत्यनाथ) छुनु हुँदैन भन्ने मान्यता चिर्दै २०५६ सालमा महिलाले धाः बजाउन सुरू गरेकाे बताउनु भयाे । उहाँले प्रत्येक समूहलाइ प्रस्तुतिका लागि १० मिनेट समय उपलब्ध गराइने, ८ मिनेटमा जनाउ घण्टी बज्ने, समूहमा १० जना वाद्यवादक हुने, बाजामा नेवार धून नै प्रयाेग गर्नुपर्ने, सकेसम्म कनाथ वा बाँसुरी बाजाकाे प्रयाेग गर्नुपर्ने लगायतका नियमबारे जानकारी दिनुभएकाे थियाे ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुँदै गुंलाबाजं व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष अमीरमान शाक्यले समितिमा हाल २५ वटा समूह आवद्ध रहेकाे भए पनि पछिल्लाे समयमा सिखंमू बहाःमा पनि धाःबाजा बजाउन थालिएकाे भए पनि समितिमा आवद्ध गरी नसकेकाे तर कामपाबाट दिने अनुदानकाे सूचिमा नाम समावेश भइसकेकाे बताउनुभयाे ।

उहाँले नगरपालिकाले आर्थिक सहयोग गरेपछि एक समय लाेप हुने अवस्थामा पुगेकाे गुंला बाजा पुनरुत्थान गर्न सहयोग पुगेको बताउनु भयाे । उहाँले धाः बाजासँग कनाथ/मुहाली नै बजाउनु पर्ने भए पनि कनाथ बजाउनेहरू नभएपछि विदेशी बाजाकाे सहारा लिनु परेकाे बताउनु हुँदै अहिले कनाथ बाजा प्रशिक्षण संचालन भइरहेको जानकारी दिनुभयाे । उहाँले महिला गुंलाबाजा प्रदर्शनीकाे सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।

कार्यक्रममा कामपा १८ वडाका महिला सदस्य हेराशाेभा महर्जन, वडा सदस्य हेमज्याेति शाक्य, वडा सदस्य रचना शर्मा, वडा सचिव सरस्वती आचार्य, ङत तुलाधर समितिया नायः दीपक रत्न तुलाधरका साथै विभिन्न गुंलाबाजासँग सम्बन्धित समूहका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध