मुक्तकमा मोहन दुवाल ः युगीन चेतनाको दस्तावेज
१. विषय प्रवेश
नेपाली साहित्यको समसामयिक काव्य जगतमा मोहन दुवाल एक सुप्रतिष्ठित र सशक्त नक्षत्र हुन् । वि.सं. २००६ सालमा काभ्रे जिल्लाको व्यापारिक केन्द्र बनेपामा जन्मिएका दुवालको साहित्यिक उचाइ र क्रियाशीलता बहुआयामिक छ । जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा वि.सं. २०८२ चैत्रमा प्रकाशित तथा साहित्यकार कृष्णकुमार वैद्यद्वारा सम्पादित कृति ‘मुक्तक कवितामा मोहन दुवाल’ उहाँको समग्र मुक्तक यात्रा, प्रवृत्ति र काव्यिक यात्रामाथि केन्द्रित एक महत्त्वपूर्ण समालोचकीय तथा अनुसन्धानात्मक सङ्कलन हो । यस कृतिले मोहन दुवालका प्रकाशित पाँच वटा प्रमुख मुक्तक सङ्ग्रहहरू– ‘सिर्जनाका फूलहरू’ (२०४६), ‘संरचनाका मूलहरू’ (२०५२), ‘संभावनाका मनहरू’ (२०५९) र ‘मनका स्पर्शहरू–१’ (२०७३) ‘मनका स्पर्शहरू–२’ (२०७५) पुस्तक समिक्षाको कसीमा राखेर प्रस्तुत गरेको छ । यस पुस्तकमा सिर्जना फूलहरू मुक्तक संग्रहको बारेमा सिद्धीचरण श्रेष्ठ, केदारमान व्यथित, कृष्णचन्द्रसिंह प्रधान, कृष्णप्रसाद पराजुली, मोहन दुवाल, जीवेन्द्रदेव गिरि, रक्तबिज, तिर्थ, सुधांसु, डा. तारानाथ शर्मा, इन्द्रकुमार श्रेष्ठ सरित्, हिरामणी शर्मा पौडेल, रत्ननिधी रेग्मी, सानुराजा अन्जान, महेश रेग्मी, ध्रुव सापकोटा आदिले लेखेका समिक्षाको अंशलाई समेटिएको छ । यहि मुक्तकसँग्रह रचना, समिक्षा साप्ताहिक, डेली डायरी साप्ताहिक, समिक्षा साप्ताहिक,गरिमा आदिमा छापिएको समिक्षा अंश पनि समावेश छ ।
संरचनाका मूलहरू शिर्षकको मुक्तक संग्रहमा गंगाप्रसाद उप्रेती,जनकप्रसाद हुँमागाई, मोहन दुवाल, ध्रुव सापकोटा, ध्रुव मधिकर्मी, वी. आर . भारद्वाजले गरेको समिक्षाको अंश समावेश गरिएको छ ।
संभावनाका मनहरू मुक्तक संग्रहमा रामप्रसाद ज्ञवाली र मोहन दुवालले गरेको समिक्षालाई समावेश गरिएको छ ।
मुक्तक संग्रह मनका स्पर्शहरू १ बारे सूर्यप्रसाद लाकोजु, रामसुन्दर देउजा, कमल मिश्र, श्रीराम श्रेष्ठ, पेशल आचार्य, कपिल अज्ञात, डा. विदुर चालिसे,खगेश्वर सापकोटाले गरेको समिक्षा समावेश गरिएको छ ।
यस्तै मनका स्पर्शहरू २ मुक्तक संग्रहमा मोहन दुवालको आफ्नो भनाइ समावेश गरिएको छ । यी कृतिहरूमा तीनजनाले शोधपत्र लेखेको देखिन्छ । यस पुस्तक शोधपत्र खण्डको (क) मा मोहन दुवालको मुक्तकवत् प्रवृत्ति र योगदान शिर्षकमा सुवद्रा अधिकारीले तयार शोध पत्रलाई समावेशमा गरिएको छ, ’ख झमा सिर्जनाका फूलहरू मुक्तक संग्रहको विश्लेषण शिर्षकमा दिपमाया लुइँटेलको शोधपत्र समावेश छ । यस्तै ग मा मोहन दुवालको मुक्तक यात्रा शिर्षकमा लक्ष्मी दाहालको शोधपत्र समावेश छ ।
२. दुवालको मुक्तक यात्राका चरणबद्ध विकास
प्रस्तुत कृतिमा मोहन दुवालको मुक्तक लेखनको पृष्ठभूमिलाई केलाइएको छ । वि.सं. २०२१ सालमा ‘नयाँ संसार’ पत्रिकामा ‘मेरो सपना’ शीर्षकको कविता र सोही वर्ष नेवार भाषाको कवितासङ्ग्रह ‘चुलिजाःगु स्वाँ’ प्रकाशित गरी काव्य यात्रा थालेका दुवालले त्यसको झन्डै दुई दशकपछि मात्र वि.सं. २०४५ सालदेखि मुक्तक विधामा कलम चलाएको देखिन्छ । धुम्रपानको लत त्याग्ने क्रममा उत्पन्न मानसिक एकाङ्गीपन र छटपटीलाई निकास दिने क्रममा उहाँभित्र मुक्तकको अङ्कुरण भएको रोचक तथ्य पुस्तकमा उल्लेख छ । नेपाली राजनीतिको आरोह–अवरोहलाई आत्मसात् गर्दै पुस्तकमा दुवालको मुक्तक यात्रालाई दुई विशिष्ट चरणमा वर्गीकरण गरिएको छः
क) प्रथम चरण (सुरुदेखि वि.सं. २०४६ को जनआन्दोलनसम्म)ः यो कालखण्ड पञ्चायती निरङ्कुशताको समय हो । यस चरणमा उहाँको सचित्र कृति ‘सिर्जनाका फूलहरू’ (२०४६) बजारमा आयो । शासकहरूको दमन, वर्गीय असमानता, नागरिक चेतनाको अभाव र भूमिगत विद्रोहको स्वर यस चरणका मुक्तकहरूको प्राण हो। प्रगतिशील लेखक हुनुको नाताले प्रशासनिक त्रासका बावजुद दुवालले तानाशाह र सामाजिक बेथितिविरुद्ध निर्भीक रूपमा व्यङ्ग्य र विद्रोह गरेको देखिन्छ ।
ख) द्वितीय चरण (वि.सं. २०४६ को जनआन्दोलनदेखि हालसम्म)ः बहुदलीय व्यवस्थाको पुनःस्थापना र त्यसपछि देशमा मौलाएको राजनीतिक अराजकता, सत्ताको हानथाप, भ्रष्टाचार, र राष्ट्रियताको सङ्कटलाई यस चरणले समेट्छ । यस अवधिमा उहाँका तीनवटा सङ्ग्रहहरू (‘संरचनाका मूलहरू’, ‘सम्भावनाका मनहरू’ र ‘मनका स्पर्शहरू–१) प्रकाशित भए । यस चरणका मुक्तकहरूमा शासकहरूको छेपारे प्रवृत्तिमाथि कडा प्रहार र तीव्र देशभक्तिको भावना मुख्य बनेर आएको समीक्षकहरूको ठहर छ ।
३. कृतिको मुख्य आलोकः मोहन दुवालका मुक्तकीय प्रवृत्तिहरू
सम्पादित कृति ‘मुक्तक कवितामा मोहन दुवाल’ भित्र सङ्ग्रहित समालोचकीय सारका आधारमा दुवालका मुक्तकहरूमा पाइने मूलभूत प्रवृत्तिहरूलाई निम्नानुसार विश्लेषण गरिएको छः
दुवाल माक्र्सवादी वामपन्थी चिन्तन र प्रगतिशील वैचारिकताबाट ओतप्रोत स्रष्टा हुनुहुन्छ । समाजमा व्याप्त रूढिवादी परम्परा, वर्गीय शोषण र सामन्ती प्रवृत्तिको समूल नष्ट गरी समानतामूलक समाजको स्थापना गर्नु उहाँको अभीष्ट हो ।
दुवालका मुक्तक हावामा महल बनाउने खालका काल्पनिक रोदन होइनन्, बरु कठोर धरातलीय यथार्थका ऐना हुन् । निम्नवर्गीय श्रमिक जनता, का कारुणिक अवस्था र श्रमको शोषणलाई उहाँले बडो मार्मिक ढङ्गले उतार्नुभएको छ । यस्तै, पारिवारिक विग्रह र एकताको अभावमा सामाजिक संस्थाहरू कसरी भत्कन्छन् भन्ने कुरालाई विम्बमा प्रस्तुत गरिएको छ ।
मानव अधिकार र स्वतन्त्रतापूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारको पक्षमा दुवालका मुक्तकहरू सधैं अग्रपङ्क्तिमा उभिन्छन् । मुक्तकमा शान्तिपूर्ण जीवनको वकालत छ भने मुक्तकमा महिलालाई फूलको सौन्दर्यसँग तुलना गर्दै समाजमा उनीहरूमाथि हुने हिंसा र आतङ्कप्रति तीव्र असन्तोष व्यक्त गरिएको छ ।
राष्ट्र, राष्ट्रियता र माटोप्रतिको अगाध स्नेह दुवालको सिर्जनाको मियो हो। देशको सिमाना, हिमाल, पहाड र तराईको भूभाग जोगाउन र कुविचार बोक्ने संभ्रान्त संकीर्ण तत्त्वहरूबाट देशलाई मुक्त राख्न उनले मुक्तकमार्फत सन्देश दिनुभएको छ । आमाको काख र मातृभूमिको अस्मितालाई उहाँले सर्वोच्च स्थान दिनुभएको छ ।
कृतिमा दुवाललाई एक अब्बल व्यङ्ग्यकारका रूपमा चित्रण गरिएको छ । प्रजातन्त्रको आवरणमा तानाशाही लाद्ने प्रवृत्तिका नेता र मुर्कट्टासमान बनेको भ्रष्ट सरकारप्रति उहाँको आक्रोश निकै तीखो छ । तर, उहाँको व्यङ्ग्य केवल विनाशका लागि होइन, बरु परिष्कार र सुधारका लागि हो । अन्धकारपछि उज्यालो अवश्य आउँछ भन्ने आशावादिता र समाज सुधारको उत्कट चाहना अन्धकारपछि उज्यालो अवश्य आउँछ भन्ने आशावादिता र समाज सुधारको उत्कट चाहना उहाँका हरेक चतुष्पदी (मुक्तक) मा भेटिन्छन् ।
कृष्णकुमार वैद्यको सम्पादनमा तयार पारिएको यस कृतिको महत्त्वपूर्ण पक्ष भनेको यसले मोहन दुवालको चार दशक लामो मुक्तक साधनालाई एकै ठाउँमा ल्याएर प्राज्ञिक ढङ्गले मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको छ । सुन्दर श्रेष्ठद्वारा तयार पारिएको आवरण कलाले पुस्तकको गरिमा बढाएको छ, जसमा दुवालका सबै सङ्ग्रहहरूको झलक र क्रान्तिकारी विम्बहरू समेटिएका छन् । पुस्तकको छपाइ, शुद्धाशुद्धि र संयोजन प्रशंसनीय छ । यसले केवल मोहन दुवालको व्यक्तित्व मात्र बुझाउँदैन, बरु वि.सं. २०४० को दशकदेखि २०८० को दशकसम्मको नेपाली समाज र राजनीतिका उतारचढावहरूको साहित्यिक अभिलेखीकरण समेत गर्दछ ।
सङ्कलनमा भनिए झैं, मोहन दुवाल नेपाली मुक्तक फाँटका एक युगद्रष्टा र सम्झनालायक धरोहर हुनुहुन्छ । मनोरञ्जनका लागि मात्र मुक्तक लेखिने पुरानो मान्यतालाई भत्काउँदै मुक्तकलाई वैचारिक हतियार, सामाजिक जागरण र क्रान्तिको विम्ब बनाउन दुवाल सफल हुनुभएको छ । जनमत वाङ्मय प्रतिष्ठानले ’मुक्तक कवितामा मोहन दुवाल’ कृति प्रकाशनमा ल्याएर नेपाली साहित्य भण्डारमा एउटा उत्कृष्ट प्राज्ञिक ग्रन्थ थपेको छ । सरल, सरस र सम्प्रेषणीय भाषाशैलीमा गम्भीर भाव अभिव्यक्त गर्न सक्ने दुवालको काव्यिक शिल्प र यो समालोचकीय ग्रन्थ सम्पूर्ण प्राज्ञिक अध्येता, समालोचक तथा साहित्यप्रेमीहरूका लागि सङ्ग्रहणीय र पठनीय रहेको छ । यस्तै कृतिहरू कविता लेखमा पनि आशा गर्न सकिन्छ ।
कृतिको नामः मुक्तक कवितामा मोहन दुवाल (सङ्कलन)
सम्पादकः कृष्णकुमार वैद्य
प्रकाशकः जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपा–८, काभ्रेपलाञ्चोक
प्रकाशनकालः वि.सं. २०८२ चैत्र (पहिलो संस्करण)
आवरणकलाः सुन्दर श्रेष्ठ, आईडियल डिजाइनर्स, बागबजार
प्रमुख वितरकः भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौँ









