ज्यापू महागुथि नेपाः सक्व नगर कमिटीका अध्यक्ष किचः सिंह डंगोलकी आमा नाति माया डंगोलको निधन
ज्यापू महागुथि नेपाः सक्व नगर कमिटीका अध्यक्ष एवम् पत्रकार किचः सिंह डंगोलकी आमा नाति माया डंगोलको ८८ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
परिवारका अनुसार उहाँ लामो समयदेखि विभिन्न रोगसँग संघर्षरत हुनुहुन्थ्यो। गत साउन १६ गते शनिबार अचानक बेहोस भएपछि उहाँलाई स्तूपा अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो।
स्वर्गीय नाति माया डंगोलका तीन छोरा र तीन छोरी छन्। ज्यापू महागुथि नेपाः सक्व नगर कमिटीका अध्यक्ष किचः सिंह डंगोल उहाँका कान्छा छोरा हुन्।
किचः सिंह डंगोल सामाजिक तथा सञ्चार क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएको छ। उहाँ नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्लाका कार्यसमिति सदस्यसमेत हुनुहुन्छ। विशेषगरी साँखु क्षेत्रका गतिविधि, सम्पदा, संस्कृति र स्थानीय सरोकारका विषयलाई सञ्चारमाध्यममार्फत व्यापक रूपमा उजागर गर्न उहाँ निरन्तर क्रियाशील रहँदै आउनुभएको छ।
स्व. डंगोलको बुधवार राति नै साँखुमा अन्त्येष्टि गरिएकाे पारिवारिक श्रोतले जनाएको छ ।









