उपत्यकाका ४३ विद्यालय चौथो न्यू जेनिथ कपमा भिड्दै
उपत्यकाका ४३ विद्यालय चौथो न्यू जेनिथ कपमा प्रतिस्पर्धा गर्ने भएका छन्। न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको आयोजनामा हुने प्रतियोगितामा फुटसल र बास्केटबलतर्फ विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताबारे जानकारी दिन शुक्रबार (भाद्र २६) विद्यालय परिसरमा आयोजित पत्रकार भेटघाटमा खेलकुद संयोजक तथा प्रशिक्षक रोशन थापामगरले प्रतियोगिताका खेलहरू लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार फुटसलतर्फ ११ वर्षमुनि, १३ वर्षमुनि, १६ वर्षमुनि पुरुष तथा १६ वर्षमुनि महिला गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। त्यस्तै, बास्केटबलतर्फ पुरुष र महिला समूहबीच प्रतियोगिता आयोजना गरिनेछ।
चौथो न्यू जेनिथ कपको उद्घाटन भाद्र २९ गते सोमबार बिहान ८ बजे विद्यालय परिसरमा हुनेछ। उद्घाटन कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य, प्रधानाध्यापक, संयोजक, शैक्षिक प्रमुख तथा प्रशासन प्रमुखको उपस्थिति रहने आयोजकले जनाएको छ।
असोज ४ गते हुने समापन कार्यक्रममा नेपाल महिला बास्केटबलका प्रशिक्षक विकास शाही, नेपाल महिला फुटसलका प्रशिक्षक विक्रम महर्जन तथा काठमाडौं महानगरपालिका–१८ का वडाध्यक्ष न्हुछेकाजी महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ।
प्रतियोगिताका उत्कृष्ट तीन समूहलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब ३ देखि साढे ४ लाख रुपैयाँसम्म खर्च हुने अनुमान आयोजकको छ।
प्रतियोगिता निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न फुटसलतर्फ फिफा तथा बास्केटबलतर्फ फिबा मान्यताप्राप्त रेफ्रीलाई निर्णायकका रूपमा परिचालन गरिने विद्यालयका संस्थापक प्रधानाध्यापक राजु महर्जनले बताए।
न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले यसअघि बास्केटबल प्रतियोगिता मात्र आयोजना गर्दै आएको थियो। तेस्रो संस्करणदेखि फुटसललाई समेत प्रतियोगितामा समावेश गरिएको हो। विद्यालयकै फुटसल मैदान तथा बास्केटबल कोर्टमा प्रतियोगिताका खेल सञ्चालन हुने आयोजकले जनाएको छ।
विद्यालयमा फुटसल र बास्केटबलका अतिरिक्त तेक्वान्दोको नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ। साथै बुद्धिचाल, टेबलटेनिसलगायतका खेलकुद गतिविधिसमेत विद्यालयमा उपलब्ध रहेको पत्रकार भेटघाटमा जानकारी दिइएको थियो।









