पुलुकिसिको विशेष पुजा
किलाघः टोलबाट हरेक वर्ष इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसिको आज विशेष पूजा सम्पन्न भएको छ ।
हाल अमेरिका बस्दै आउनु भएका अनिल रत्न तुलाधरको अनुरोधमा उहाँका दाजु अनुररत्न तुलाधरले आज किलागलको पुलुकिसि घरमा पुगेर पुजा गर्नुभएको हो ।
हुनत पुलुकिसि जात्राको बेलामा घरघरमा लगेर पुलुकिसिलाई पुजा दिने गरिन्छ । तर यसवर्ष कोभिड–१९ का कारण जात्रा प्रभावित भएपछि श्रद्धालुको अनुरोधमा विशेष पूजा गरिएको किलाघः टोलका नाइके वंशीकृष्ण डंगोलले बताउनु भयो ।
पुजामा सहभागी हुनु भएका कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले यस वर्ष जात्रा प्रभावित भए पनि श्रद्धालुहरुले आफ्नो श्रद्धालाई भुलेका छैनन् भन्ने सन्देश आजको पूजाले दिएको बताउनु हुन्छ ।
कोभिड–१९ महामारीका कारण जात्रामा पूजा गर्न नपाए पनि भाइको अनुरोधमा आफूले पूजा गर्न आउन पाएकोमा हर्षित हुनु भएका दाजु अनुररत्न तुलाधरले हरेक वर्ष आफूहरुले घरमै पुजा गर्दै आएकोमा यस वर्ष विसम परिस्थिति र भाइबुहारी अमेरिकामा रहनुभएको समयमा पुजा गर्न आएको बताउनु भयो ।
भोलिदेखि मलमास सुरु हुने र सो समयमा कुनै पनि किसिमको शुभकार्य गर्न नहुने भएका कारण आजै आफूहरु पूजाका लागि आएको पनि उहाँले बताउनु भयो ।
पुलुकिसि इन्द्रजात्रामा निकालिने नाचहरु मध्ये एउटा आकर्षक नाचको रुपमा प्रख्यात छ । यसलाई इन्द्रको वाहन ऐरावत हात्ती पनि भन्ने गरिएको छ भने गणेशका रुपमा समेत यिनको पूजा आराधना गर्ने गरिन्छ ।








