रिपोर्ट नअाएसम्म सेल्फ क्वारेन्टाइन बस्न अाग्रह

शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठकले पिसिअार परीक्षणका लागि स्वाब दिई सकेपछि रिपोर्ट नअाएसम्म घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अाग्रह गरेको छ ।
समितिका संयोजक मा. जीवनराम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले समितिको गत भाद्र ९ गते बसेको भर्चुअल बैठकबाट कोरोना भाईरस (कोभिड १९) को पि.सि.आर परिक्षण रिपोर्ट यथाशक्य छिटो सम्वन्धीत व्यक्तिलाई उपलव्ध गराउन निर्देशन दिइएकोमा हालसम्म खासै प्रगति नदेखिएकोले संक्रमित व्यक्तिहरुको पहिचान गरी सम्वन्धित व्यक्तिलाई समुदायबाट अलग गरी आईसोलेशनमा राख्ने कार्यलाई व्यवस्थित गर्नु पर्ने हुंदा पि.सिआर टेष्ट गराई सकेपछि परिणाम नआएसम्म हिडडुल नगरी आफ्नै घरमा स्वंयम क्वारेन्टीनमा बस्ने ब्यवस्था मिलाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
यसैगरी समितिले कोरोना भाईरस (कोभिड १९) को सम्वन्धमा भए गरेका कामहरुको स्थलगत अध्ययन अवलोकन गर्न यही भाद्र १९ गते कोभिड १९ ल्याब टेष्ट संग सम्वन्धीत पदाधिकारीहरु र उद्योग बाणिज्य तथा आपूर्तिसंग सम्वन्धीत प्रतिनिधि, जनस्वास्थ्यका पदाधिकारीहरु तथा भाद्र २१ गते काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु र उपत्यका नगरपालिका फोरमका प्रतिनिधिहरु, स्वास्थ्य परिषद लगायतका पदाधिकारीहरु सँग छलफल गरे पश्चात् स्थलगत अनुगमनमा जाने निर्णय गरेको छ ।








