२६ औं वर्षमा नेवार राष्ट्रिय संगठन

नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू आजबाट २६ औं वर्षमा प्रवेश गरेको छ ।
नेवार हक अधिकारको रक्षा तथा भाषा, कला, संस्कृतिको प्रवद्र्धनको उद्देश्यका साथ २६ वर्ष पहिले नेवाः देय् दबूको स्थापना गरिएको थियो ।
नेवार हक अधिकारका लागि निरन्तर क्रियाशील रहेको देय् दबूले २६ औं वर्ष पूरा गरिसकेपछि संगठनलाई विस्तार गर्दै जहाँ जहाँ नेवार छन् त्यहाँ त्यहाँ नेवाः देय् दबू स्थापना गर्ने लक्ष्य लिएको दबूका अध्यक्ष नरेश ताम्राकारले बताउनु भएको छ ।
यसका साथै प्राचीन बस्तीबाट नेवारहरु विस्थापित हुँदै गइरहेको सन्दर्भमा एकीकृत रुपमा नेवारहरुको विस्थापन रोक्नका लागि समेत पहल गरिने उहाँले बताउनु भएको छ ।
नेवाः देय् दबूको महाधिवेशन पनि नजिकिँदै गरेको सन्दर्भलाई कोट्याउँदै उहाँले वर्तमान विधानमा केही संशोधन गर्नु पर्ने भएकाले विधान अधिवेशन गरी यही असोज महिनामा महाधिवेशन गर्ने तयारी रहेको भएता पनि विद्यमान लकडाउनको परिस्थितिका कारण निर्धारित समयमा सो कार्य गर्न नसकिएको जानकारी दिनु भयो ।
विद्यमान परिस्थिति सामान्य हुनासाथ विधान अधिवेशन र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरिने र आफूले विश्राम लिने मनस्थितिमा रहेको उहाँले बताउनु भएको छ ।

भर्चुअल कार्यक्रममा प्रमुख अतिथि दबूका संरक्षक एवम् मानव अधिकारवादी नेता मल्ल के सुन्दरले नेपालभाषा र नेवार संस्कार नछोडीकन बसीरहेका उपत्यकाका नेवार र उपत्यकाबाहिर नेपालभाषा नजानेर, आफ्नो संस्कार गुमाएर अरुकै भाषा र संस्कार अपनाएर बस्न बाध्य भएका नेवारहरुको समस्या भिन्दाभिन्दै भएकोले सरोकारवालाहरुसँग छलफल गरी योजनाबद्ध तरिकाबाट नेवारहरुलाई दबूले क्रमशः अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।

यसैगरी विशेष अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले मन्तव्य राख्नुहुँदै नेवारहरुलाई एकत्रित गर्ने प्रमुख पहिचान भनेकै भाषा भएकोले नेपालभाषा नजानेका सबै नेवारहरुलाई म नेवार हुँ भन्ने पहिचान दिन सकिने नेपालभाषा सिकाउने अभियान दबूले सञ्चालन गर्न ढिलो भइसकेको बताउनु भयो । ्
यसैगरी निकट भविष्यमा हुने राष्ट्रिय जनगणनामा आफ्नो भाषा नेपालभाषा, पुर्खा नेवार लेखाएर नेवारहरुको सही तथ्यांक दर्ता गराउनु पर्ने कुरामा पनि जोशीले जोड दिनु भयो ।
दबूका सचिव माइला बाबु द्योलाले सञ्चालन गरेको कार्यक्रममा जूम सञ्चालन प्राविधिक सहयोग राजन डंगोलले गर्नुभएको थियो भने बालकृष्ण हलुवाइ–धरान, परशुराम श्रेष्ठ–बाग्लुङ, ज्ञानकाजी मानन्धर– बनेपाले नेपालभाषा, साहित्य र संस्कृति उत्थानका लागि धेरै पुस्तक लेखेर पु¥याउनु भएको योगदानको कदर गर्दै दबूले सम्मान गरेको छ ।
प्रमुख अतिथि मल्लले नेपालभाषाले राख्नुभएको मन्तव्यलाई दबूको महिला समितिका अध्यक्ष रश्मिला प्रजापतिले सारमा खस नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध