लिच्छवीकालिन बस्ती हटाउन लागेकोमा मोर्चाको विरोध
- नेवाः सूचना केन्द्र
काठमाडाैं
पशुपति क्षेत्रमा रहेको लिच्छवीकालीन नेवाः बस्ती, गोल बस्तीबाट जनतालाई उठीबास लगाउने योजना पशुपति विकास कोषले ल्याएकोमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको गंभीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गरी जनाएको छ ।
मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोषले गत चैत्र महिनामा पशुपति क्षेत्रको समग्र विकासको चौथो गुरु योजना संस्कृति पर्यटन तथा उद्दयन मन्त्रालयमा स्वीकृतिका लागि पठाएको र यस योजनामा मुख्य क्षेत्र, त्यसको वरिपरिका परिसर र यसको चारैतिर निरन्तरताको क्षेत्र भनेर छुट्याइएको र योजना १५ वर्षमा सक्ने गरी ५/५ वर्षका तीन चरणमा पुरा गर्ने रहेको छ । यसको लागि ४० अर्व बजेट लाग्ने लागत तयार गरिएको छ । निरन्तर क्षेत्र भनेर तुकुचा खोला (रुद्रमती खोला) सम्मलाई लिएको उल्लेख गरिएको छ ।
नेवाः वस्ती विस्थापन गर्न खोजेको भन्दै योजना तयार गर्दा स्थानीय जनता र जनप्रतिनिधिसँग कुनै सल्लाह नलिएको र पशुपतिमा दर्शनार्थीहरुको भिडभाडलाई व्यवस्थित गर्न भनेर त्यहाँ रहेको लिच्छवीकालीन पुरानो नेवाः बस्ती (गोल बस्ती) उठाउने समेत प्रस्ताव रहेकोमा आपत्ति जनाइएको छ ।
गुरुयोजनाका सम्बन्धमा मन्त्रालय र सरकारको दृष्टिकोण के हो, तत्काल सार्वजनिक हुनु पर्ने माग गर्दै गुरु योजनालाई तत्काल खारेज गरी पशुपति विकास कोषका सदस्य सचिव र यससँग सम्बन्धित कर्मचारीहरुलाई तत्काल बर्खास्त गर्न समेत मोर्चाले माग गरेको छ ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘गोलका जनसमुदाय र आम जनतामा पशुपतिका नाममा मागि खाने भाँडो बनाउने भ्रष्ट ब्रम्हाणवादीहरुका विरुद्ध सशक्त आन्दोलन उठान गर्न हार्दिक अपील गर्दछ । यसको अग्र पंक्तिमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः रहन तयार रहेको पनि सबैमा अवगत गराउन चाहन्छ ।’








