“नाद रंग – कलर्स अफ साउन्ड” कन्सर्ट आइतबार
अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका ख्यातिप्राप्त बांसुरीवादकअश्विन श्रीनिवासनले आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यहीआइतवार (फागुन २८/मार्च १२) का दिनआयोजना गर्न लागेकाे “नाद रंग – कलर्स अफ साउन्ड”, कन्सर्टमा श्रीनिवासनलाई प्रख्यात तबलावादकओजस अढियाले तबलामा साथ दिनेछन् ।
दुई वर्षको उमेरमा भारतीय शास्त्रीय सङ्गीत सिक्न शुरु गरेका अश्विन संगीतकार परिवारमै जन्मेका हुन् । आफ्नी आमाबाट सितार सिक्न थालेका उनको आकर्षण सात बर्षको उमेरमा बाँसुरीतर्फ मोडियो । हाल मुम्बईका सबैभन्दा ब्यस्त बासुरीवादक उनी विश्वका अन्य विभिन्न लोक पवनवाद्य उपकरणहरूका समेत दक्ष संगीतकारका रुपमा चिनिन्छन् ।
उनलाई साथ दिने तबलावादकओजस अढिया सबैभन्दा कान्छा तबला वादकका रुपमा “द लिम्का बुक अफ रेकर्डस्”मा दर्ता भएका भारतीय शास्त्रीय संगीत क्षेत्रका सबैभन्दा होनहार मानिने तबलावादक हुन् ।
दाफा म्युजिकका विभिन्न नेवाः र शास्त्रीय बाजाहरू फ्यूजन गरिएको सामूहिक प्रस्तुतिबाट कार्यक्रम आरम्भ हुनेछ ।
नेपालको सांस्कृतिकपरम्परा दाफा संगीतको संरक्षण एवं प्रवर्द्धन गर्दै युवा पुस्ताका सांगीतिक समूहमा हस्तान्तरण गरेर सिमित हुँदै गएको सांगीतिक परम्पराको प्रचार गर्दै ब्यापक बनाउने उद्देश्यले समावेश गरिएको आयोजक समाजकाअध्यक्ष लक्ष्मी डंगोलले बताउनु भएको छ ।
काठमाडौं महानगरपालिकाको सहयोग रहेको सो कार्यक्रमबाट संकलन हुने रकम संगीत विद्यार्थीहरूका लागिआवश्यकतानुसार छात्रवृत्ति प्रदान गर्न समर्पित गरिनेछ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनीता डंगोलको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा साँझ ५ बजे कार्यक्रम हुनेछ ।
यस कार्यक्रमकाआयोजक जयश्री संगीत समाजले नेपालको शास्त्रीय संगीत उद्योगको प्रवर्द्धन गर्नुका साथै स्थापित तथा उदीयमान कलाकारहरूलाई अवसर प्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
प्रत्येक दुई महिनामा “जुगलबन्दी” शास्त्रीय संगीत कन्सर्टको आयोजना गर्दै आएको समाजले यस अघि नेवालिभिङ लेजेन्ड गायक भृगुराम श्रेष्ठको गीत प्रवर्द्धन गर्ने उद्देश्यले “माया रे रत्न – भृगुराम श्रेष्ठ – लाइभ इन कन्सर्ट” २०१८, विरजु महाराजकी छात्राको कत्थक कलाकार शिखा खरेको प्रस्तुति “कत्थक रिदम्स एण्ड एक्सप्रेशन – २०१७”, पण्डित हरिप्रसाद चौरासिया लाइभ इन कन्सर्ट – २०१४, पोखरा एवं काठमाडौंमा “द मुड्स अफ मीड – सितार लाइभ इन कन्सर्ट – २०१३”, सरोदमा master muets – २०१२ को आयोजना गरेको छ ।








