नेपाल भाषालाई गुगुल ट्रान्सलेटमा समावेश
गत शुक्रबार नेवाः देय् दबूको आयोजनामा नेपाल भाषालाई गुगुल ट्रान्सलेटमा समावेश बिषयक गोष्ठि सम्पन्न भएको छ । विश्वभरि रहेका मातृभाषाहरु विस्तारै लोप हुदै गएको वेला आफ्नो भाषा र संस्कृति संरक्षण गर्नको लागि यो कार्य अति आवश्यक भन्नु हुँदै यस कार्यक्रममा दक्ष दिपेश मानशाक्यले यस बारेमा प्रकाश पार्नु भएको थियो ।
उहाँले गुगुलबाट अहिले सम्म १०० वटा भाषा समावेश भइसकेको अवस्थामा नेपालभाषालाई पनि समावेश गर्न पायो भने नेपाल भाषा र संस्कृति पहिचानलाई संरक्षण गर्न सकिन्छ कि भन्नु भयो । गुगुल ट्रान्सलेटमा आफ्नो भाषा समावेश गर्न सकियो भने अरु भाषा नजाने पनि यहि ट्रान्सलेटले मद्दत गर्ने र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने कुरा भन्नुभयो । साथै भिजोल मार्फत कसरी गुगल ट्रान्सलेटले सहयोग गर्छ भन्ने कुरा पनि देखाउनु भएको थियो ।

त्यसै गरी हलि नेवाः दबू नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले गुगुल ट्रान्सलेटमा नेपाल च्याप्टरले पनि गम्भिर रुपमा लिएको र
यस कार्यलाई सहयोग गर्न नेपालबाट साथ लिन सक्नेलाई समेतेर सहयोग गर्ने कुरा राख्नुभयो ।

प्रमुख अतिथिको ठाउँबाट बोल्नु हुँदै नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले नेपालभाषालाई संरक्षण गर्न र विदेशमा पहिचान वनाउन पाए आफु खुशि हुने र नेवाः देय दबूले नेपालभाषालाई नै प्राथमिकता दिनको लागि कार्य गर्दै आएकोमा अझ यस्ता नयाँ नयाँ प्रविधिले भाषालाई संरक्षण गर्न पायो भने अवश्य आफुले साथ र सहयोग दिने कुरा राख्नु भयो ।

सो गोष्ठि नेवाः देय् दबू काठमाण्डौ जिल्लाका अध्यक्ष धनबहादुर महर्जनको सभापतित्वमा भएको थियो भने उपाध्यक्ष श्रीजन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम सचिव सुनिता महर्जनले संचालन गरेका थिए ।








