पुरुषोत्तम मास र मत्स्यनारायणको मेला
विश्वमा प्रचलित संवत्हरु मुख्यतः सूर्यमान र चन्द्रमानमा आधारित रहेर गरिएको छ । हाल अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको इस्वी संवत् सूर्यमानमा आधारित संवत् हो । नेपालमा सरकारी मान्यताप्राप्त विक्रम संवत् मूलरुपमा चान्द्रमानकै आधारित संवत् भए पनि प्रशासनिक सहजताका लागि यसलाई सूर्यमानमा आधारित बनाएर प्रयोग गरिएको पाइन्छ । विशेषतः धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा अहिले पनि चान्द्रमान अनुरुप नै गतिविधिहरु संचालन हुँदै आएको छ । चान्द्रमान र सूर्यमान अलग अलग देखिए पनि यी दुई अन्तरसम्बन्धित छन् ।
पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ भने चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । यसरी हेर्दा सूर्यमान तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।
अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिक मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।
नेपाली समाज धार्मिक सहिष्णुताले पूर्ण समाज हो । यहाँ प्रत्येक महिना कुनै न कुनै भगवानलाई समर्पित रहेको पाउन सकिन्छ । यसैगरी अधिक मास भगवान् विष्णुका प्रमुख दश अवतार मध्ये पहिलो अवतारका रुपमा लिइने मत्स्य अवतारप्रति समर्पित रहेको पाइन्छ ।
यो महिना काठमाडौं उपत्यकाको चन्द्रागिरी डाँडाको फेदमा रहेको मत्स्य नारायण भगवानकहाँ विशेष मेला लाग्ने गर्दछ ।
स्थानीय बुद्धिजीवी देवकुमार श्रेष्ठका अनुसार प्राचीनकालमा नेपालको काठमाडौं उपत्यका विशाल नागदहका रुपमा रहेको थियो । कालान्तरमा यहाँको पानी निष्कासन भई बस्ती योग्य भएपछि पहाडी क्षेत्रका छेउछाउबाट मानव वस्ती बस्न सुरु भएको थियो । यसैक्रममा काठमाडौंको दक्षिण पश्चिमी भागमा रहेको मच्छेगाउँ पनि बसेको मान्न सकिन्छ । यहाँ मत्स्यनारायण भगवानको कुण्ड र मन्दिर अवस्थित रहेको छ ।
यस मन्दिरमा अधिकमास अर्थात् पुरुषोत्तममासभर मेला लाग्ने गर्दछ । गोलोक वासी परव्रह्म परमात्मा भगवान् श्रीकृष्णको अनुग्रहले मलमास भएर पनि आफ्नै नाममा परब्रह्मले पुरुषोत्तम मास भनेर नामाकरण गर्नुभएको अधिकमासमा गरिने ब्रत, तप, पुण्यदान अक्षय हुने र उत्तम लाभ प्राप्त हुने कुा वृहत नारदीय पुराणमा उल्लेख गरिएको छ ।
पुरुषोत्तममासको महत्व भनेको महिनाभर नै भगवान् पुरुषोत्तम नारायणको पूजा, आराधना, उपासना नर्गु हो ।
विष्णुधर्मोत्तर पुराणका अनुसार सौर सम्बत् ३६५ दिनको र चन्द्र सम्बत् ३५४ दिनको एक वर्ष हुन्छ । वार्षिक रुपमा चन्द्र सम्बत् भन्दा सौर सम्बत् ११ दिन बढी हुन्छ । यस प्रकारले सामान्यतया २ वर्ष ८ महिना १६ दिन ४ घडिको अन्तरालमा एकपटक पुरुषोत्तम(अधिक)मास पर्न आउँछ । यो पुरुषोत्तम मासमा श्री मत्स्यनारायण (पुरुषोत्तम) भगवानको दर्शन गरेको खण्डमा अन्य समयमा भन्दा धेरै पुण्य लाभ हुने जनविशवासका कारण पुरुषोत्तम मासमा देश बिदेशबाट लाखौं भक्तजनहरु मत्स्य नारायणको दर्शनको लागि पुग्ने गर्दछन् ।
यस अवसरमा मच्छेगाउँस्थित मत्स्यनारायण भगवानको मन्दिरमा पूजा आराधना, कथा पुराण वाचन, जागराम बस्ने, बत्ती बाल्ने, गौदान गरेर चरेसको थालमा आचरवान वैदिक व्राह्मणलाई ३३ वटा मालपुवा राखेर दान गर्ने चलन छ । यो महिना यस्तो धार्मिक कार्य गर्नाले अश्वमेघ यज्ञ गरे सरहको पुण्य प्राप्त हुने पुरुषोत्तम महात्म्यमा वर्णन गरिएको छ ।
काठमाडौंको दक्षिणपश्चिमी क्षेत्रमा रहेको मत्स्य नारायणको मन्दिरमा विशेष मेला लाग्ने भए पनि उपत्यकाका विभिन्न स्थानमा मत्स्यनारायणको दर्शन गर्न चाहने श्रद्धालु भक्तजनहरुको सहजताका लागि ठाउँ ठाउँमा मन्दिर तथा मूर्तिको स्थापना गरिएको पाइन्छ ।
मच्छेनारायणको सेरोफेरो
चन्द्रागिरी नगरपालिका प्राकृतिक सम्पदाले युक्त ठाउँ हो । यहाँ प्रकृतिमा रमाउनेहरुको लागि निक्कै उपयुक्त वातावरण पाउन सकिन्छ ।
धार्मिक रुपमा पनि यहाँ अन्य महत्वपूर्ण स्थानहरु रहेको पाउन सकिन्छ । मच्छेनारायणमन्दिरको पश्चिमतर्फ सत्यनारायणको स्थान पनि रहेको छ । जुन स्थान पनि धार्मिक रुपले महत्वपूर्ण ठाउँ हो ।
यसैगरी मच्छेनारायणबाट पूर्वतर्फ बाघभैरवको मन्दिर पनि रहेको छ । जुन मन्दिरमा बाघभैरवको उत्पत्ति भएको जनविश्वास रहेको छ ।
काठमाडौंको कलंकी चोकबाट २०–२५ मिनेटमा पुग्न सकिने मच्छेगाउँ मत्स्यनारायणकै कारण प्रसिद्ध छ । तीन वर्षमा एकपटक लाग्ने मेलाले यहाँको महत्व उजागर गर्न सहयोग पु¥याएको छ । तथापि यहाँ धार्मिक मात्र होइन प्राकृतिक पर्यटनको पनि विकास गर्न सकिने सम्भाव्यता छ । यहाँको बाटोघाटोहरुको स्तरोन्नति गनुर््का साथै पिकनिक स्पटहरु निर्माण गर्न सकेको खण्डमा यहाँ पर्यटकीय गतिविधिहरु अझ विकसित बनाउन सकिन्छ ।
अन्य स्थानमा मच्छेनारायण

काठमाडौंको केन्द्रविन्दु हनुमानढोका दरवार क्षेत्रमा रहेको ताना बहालमा पनि मत्स्यनारायणको मूर्ति स्थापना गरिएको पाइन्छ । यो मूर्तिको स्थापना पुरुषोत्तम लाल श्रेष्ठ र गुणकेशरी श्रेष्ठले गर्नुभएको थियो । हेर्दैमा आकर्षक देखिने यो मूर्तिको दैनिक पुजाआजाका क्रममा खुइलिएर गएका कारण उहाँहरुकी सुपुत्री रिजु श्रेष्ठले सो मूर्ति धातुको बनाएर स्थापना गर्नुभएको थियो । यो देवता पुरुषोत्तम मासमा मात्र बिहानी समयमा प्रदर्शन गरिने र पुजाआजा गर्ने चलन रहेको छ ।
यसैगरी भक्तपुरको चागुँनारायण नगरपालिका ५ मा पर्ने छालिङ्ग गोकुल गाउँमा रहेको मत्स्यनारायण मन्दिरमा पनि पुरुषोत्तम मास भर मेला लाग्ने गरेको छ ।
(तस्वीर ः नातिकाजी महर्जन)








