पर्यावरणीय प्रणालीको पुनःस्थापनार्थ आकाशेपानी संकलनको भुमिका विषयक अन्तर्क्रिया सम्पन्न
वर्षायाम सुरु हुनु ठिक अघि पानीका श्रोतहरु इनार, धारा, पोखरी, राजकुलो ढुङ्गेधारा इत्यादी सफा गरि मनाइने सिथि नखःका अवसरमा गुथिले पर्यावरणीय प्रणालीको पुनःस्थापनार्थ आकाशेपानी संकलनको भुमिका विषयक अनलाईन अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं उपत्यकावासीको पानीको मुहानप्रतिको आस्थालाई दर्शाउने यस पर्वले पानीको उपलब्धतामात्रै सम्पूर्ण नभई त्यसको सरसफाईलाई पनि महत्व दिनुपर्छ भन्ने कुरालाई मनन् गरेको देखिन्छ ।

अन्तर्क्रियामा बागमती प्रदेश र प्रदेश १ को गत ४० वर्षको तापक्रम र वर्षात् सम्बन्धी अध्ययन गरेका अमिताभ बज्र बज्राचार्यले वर्षात्को स्थिति प्रद्रेश नं. १ मा ६.४५ मिमि र बागमती प्रदेशमा १.३४५ मिमिका दरले घट्दै गईरहेको तथ्यलाई उजागर गर्दै यस्तै स्थिति कायम रहेमा पानीको सतह घट्दै जाने र खडेरी पर्ने सम्भावना अधिक रहने बारे जानकारी दिनु हुँदै समयमै सचेत हुन आफ्नो प्रस्तुतिकरण मार्फत सबैलाई आग्रह गर्नुभयो ।
परम्परागत ढुङ्गेधारा र पोखरीहरु आकाशेपानीमा निर्भर रहेको र आकाशेपानी रिचार्जका लागि महत्वपूर्ण प्रणाली भएको समिप नारायण श्रेष्ठले बताए । उनको अध्ययनअनुसार काठमाडौं महानगरपालिका वडा नं. १४ मा औषतमा प्रति घरधुरि १३८.४२ वर्ग मिटरको छत रहेको जुन आकाशेपानी संकलनका लागि पर्याप्त रहेको जानकारी दिनुभयो । उनले का.म.पा. वडा नं. १४ का बासिन्दाहरुले विभिन्न पानीको श्रोतको प्रयोग गर्दै आएको र ५४.९० प्रतिशत घरहरुमा आकाशेपानी बैकल्पिक रुपमा प्रयोग गर्दै आएको जानकारी दिए ।
उनले ईनार निर्माण गर्न करिब १ लाख १२ हजारसम्मको लागत पर्ने तर आकाशेपानी संकलन प्रविधि निर्माण गर्न ७० देखि ८० हजार मात्र पर्ने बताए । आकाशेपानी संकलन प्रविधि निर्माण गर्दा वार्षिक एक घर धुरिलाई ९४,००० लि. संकलन हुने र यसबाट करिव दुई वर्ष पानी टयांकरबाट किन्नु पर्ने रकम बचत गर्न सकिने बताए ।
कार्यक्रममा काठमाडांै महानगरपालिका शहरी विकास योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरपालिकाले रिचार्ज काठमाडौं अन्तर्गत पानी पुनःभरण र शहरी बाढी रोक्न मुख्य गरी दुई योजना संचालनमा आइसकेको जानकारी दिए । उनले यही योजनाअन्तर्गत निर्माण गरिएको जमिन पुनःभरण संरचनाले पानीको सतह बढाएको र बाढीको समस्यालाई पनि समाधान गर्न सफल भएको बताउँदै यही योजना हाल का.म.पा. वडा नं. ५ को वडा कार्यालय भवन र वडा नं. १ मा अवस्थित विद्यालयमा सफलतापूर्वक परिक्षण गरिएको जानकारी दिए ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सन्जीवविक्रम राणाले आकाशेपानी संकलन प्रविधि विज्ञान सम्मत हुन जरुरी भएको बताए । उनले जमिनको स्थितिलाई अध्ययन गरेर मात्र जमिन पुनःभरण गर्नु पर्ने अवस्थाको चित्रण गर्दै यसको लागि बोर्डले जमिनको पानीको नक्साङ्कन गर्दै आएको र उक्त प्रतिवेदन चाडै नै तयार हुने बताउँदै महानगरले रिचार्ज काठमाडौंलाई बैज्ञानिकरुपमा संचालन गर्न आवश्यक रहेको धारणा राखे ।
आयोजना प्रमुख ज्ञानेश बज्राचार्यले हालै सम्पन्न बागमती नदी वेसिनमा गरिएको आकाशेपानी संकलन र जमिन पुनःभरण परियोजनाको प्रारम्भिक अवस्थामा ९१.८% घरधुरीले यस प्रविधिमा कुनै उत्साह नदेखाएको तर यस परियोजनाको लक्ष्य २५०० घरमा आकाशेपानी संकलन र जमिन पुनःभरण गर्ने रहेतापनि २१३४ घरमा निर्माण सम्पन्न गरिसकेको जानकारी दिए । यस परियोजना संचालनको अवधिमा विशेष गरी महिलाहरुको सहभागितालाई प्राथमिकता दिएको र १९१ प्रशिक्षण संचालन गरिएको जानकारी दिए ।
कार्यक्रममा पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले पानीको प्रत्येक थोपा महत्वपूर्ण रहेको र आकाशेपानी पानीको महत्वपूर्ण स्रोत भएको बताए । उनले आज वर्षात्का कारण विश्वभर खतरा बढेको र नेपालमा पनि मनसुनको सुरुवातसंगै विभिन्न ठाउँमा बाढी पहिरोले ठुलो धनजनको क्षति गरेको तर्फ ईगित गर्दै यस्तो दैविप्रकोपको रोकथामका लागि आकाशेपानी संकलन र जमिन पुनःभरणको बैज्ञानिक प्रविधिको विकासले केही सहजिकरण गर्न सक्ने जानकारी दिए ।








