वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिन्छु : मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने भएको छ ।
राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताएको हो ।
‘हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हो,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा म धेरै पटक वडा–वडामा पुगेको छु । यो पटक बजेट निर्माणका सन्दर्भमा पनि सबै वडाका जनप्रतिनिधिको राय–सुझावसहितको आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाएको छु ।’
प्रमुख शाक्यले सबै वडाध्यक्षलाई वडा समितिका बैठकमा आफूलाई समय मिलाएर बोलाउन आग्रह समेत गरेका छन् ।
असार २ गतेबाट काठमाडौँ महानगरको नवौँ अधिवेसन सुरु हुन्छ । त्यस अघि नै आ–आफ्ना वडाको विकास निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटमा के–के समावेश गर्नुपर्ने हो त्यो विषय वडावासीसँग व्यापक छलफल गरी योजना बनाएर ल्याउन आग्रह गर्दै सबै वडामा एकै पटक पुग्न सम्भव नहुने भएकाले वडाका बैठकमा समय मिलाएर निम्ता दिन अनुरोध गर्दै जनप्रतिनिधि र वडावासीसँग गहन छलफल गरेर सकेसम्म सबैको चित्त बुझ्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन तयार रहेको बताए ।
शाक्यले अहिले योजना नल्याउने अनि पछि मेरो वडामा योजना परेन भनेर गुनासो गर्ने अवस्था नहोस भनेर यस्तो योजना बनाएको पनि बताए । शाक्यले वडाका अन्य महत्वपूर्ण बैठकमा पनि आवश्यकताका आधारमा उपस्थित भएर छलफल गर्न तयार रहेको बताए ।
प्रमुख शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा पनि समीक्षा गरेको थियो । बैठकमा कोभिडको महामारी व्यवस्थापनका लागि गरिएका कामका विषयमा कार्यपालिका सदस्यहरुबाट उठेका जिज्ञासाको उत्तरमा प्रमुख शाक्यले भने – ‘मानवीयता र मानव जीवन रक्षाका सवाल गरिने कुनै पनि काम सशर्त हुँदैनन् । हामीले यो पटक सरकारी र सामुदायिक अस्पतालको क्षमता विकासमा सहयोग गर्यौं । यो निशर्त सहयोग हो ।’ बैठकले सिटी लाइव्रेरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि–२०७८ तर्जुमा गर्न सहमति दिएको छ । यी कार्यविधिहरु विधायन समिति मार्फत कार्यपालिका बैठक हुँदै नगर सभामा पेश हुनेछन् ।
बैठकले जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट्याण्डको ५ बर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय गरेको छ ।
यसैगरी पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका काम सम्बन्धि भेरिएसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकम सम्बन्धि भेरिएसन स्वीकृत गरेको छ ।








