राष्ट्रकवि माधव घिमिरेको निधन

मेरो संवाददाता

काठमाडौं

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार  साँझ उनकै निवास कपुरधारामा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।
१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मेका उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए ।

उनको काव्यिक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। पत्नी गौरीको निधन भएको शोकमा राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य गौरी साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको थियो । यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन्।

घिमिरेको अन्त्येष्टि  बुधबार गर्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध