नेपालभाषा केन्द्रीय विभागकाे इलाइब्ररी सुरू
त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाइब्रेरीको सुरुवात भएको छ । विहिवार ललितपुरस्थित विभागको परिसरमै भएको एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले विभागको ई लाइब्ररी अमलद।भनग।लउ को समुद्घाटन गरिन् ।
कार्यक्रममा बोल्दै कामपा उपप्रमुख डंगोलले यस ई लाइब्ररीमा नेपालभाषाका पुस्तक मात्र नभएर नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि लेखिएका पुस्तक एवम् लिखित सामग्रीहरु अपलोड गर्दै जान आग्रह गर्नुभयो । ‘नेपालको ईतिहास, भाषा, कला, साहित्य, संस्कृति, धर्म लगायतका विषयवस्तुको अध्ययन संसारको कुनै पनि कुनाकाप्चामा बसेर गर्न सहज होस् । यसमा नेपालको अध्ययन गर्न सकिने गरी सामग्रीहरु अपलोड गर्दै जानुस्, काठमाडौं महानगरपालिका तपाईँहरुको साथमा छ’ डंगोलले भनिन् ।
काठमाडौं महानगरपालिकाको रु. ५० लाख आर्थिक सहयोगमा विभागको ई लाइब्ररी निर्माण गरिएको हो । कार्यक्रममा कामपा उपप्रमुख डंगोलले ई लाइब्ररीको अपग्रेड र अपडेटको लागि बजेट थपिदिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले ईलाइब्ररीमा नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि लेखिएका हरेक पुस्तकहरु, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्रीहरु खोजी खोजी यसमा अपलोड गर्ने लक्ष्य रहेको जानकारी दिए ।
मन्तव्यको क्रममा विभागका प्रमुख सहप्राध्यापक डा. जोशीले नेपालभाषा क्षेत्र र नेवार समुदायले विभागलाई प्राज्ञिक मञ्चको रुपमा सदुपयोग गर्न पनि आह्वान गरे । ‘यो विभाग अध्ययन, अनुसन्धानको थलो हो । अध्ययन, अनुसन्धानको क्षेत्रलाई व्यापक र सहज पनि बनाउनलाई हामीले ईलाइब्ररी ल्यायौं । नेपालभाषा क्षेत्र र नेवार समुदायले ईलाइब्ररीको साथमा यो विभागलाई प्राज्ञिक थलोको रुपमा सक्दो सदुपयोग गर्नुहोस्’ डा. जोशीले भने ।
कार्यक्रममा उपप्राध्यापक डा. वज्रमुनि वज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुवँर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी संगठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतकले आआफ्नो विचार राखेका थिए ।
सोही कार्यक्रममा पुष्पदेवी छात्रवृत्ति, खैगुलि छात्रवृत्ति, योगवीर सिंह विद्वत्वृत्ति लगायतका छात्रवृत्ति प्रदान गरिएको थियो । साथमा नेपालभाषा स्नातकोत्तर विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अनुसन्धान लगायतलाई सत्यहिरा पुरस्कार, पियूष पदक, श्रेष्ठ पदक लगायतका पुरस्कार पनि प्रदान गरिएको थियो । ई लाइब्ररीमा निर्माणमा आर्थिक, भौतिक र विभिन्न प्रकारले सहयोग गरेका सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।
सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका निवर्तमान प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पूर्व प्रमुख प्रा. प्रेमशान्ति तुलाधर, पूर्व प्रमुख सहप्रा. सिर्जना प्रधान लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।








