नविल बैङ्कका १८ वटा शौचालय सार्वजनिक प्रयोगमा आउने

नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगका लागि काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।
५ वर्षका लागि गरिएको सम्झौताबमोजिम बैङ्कले सार्वजनिक शौचालय लेखेको संकेत चिन्ह स्पष्ट देखिने गरी राख्नेछ । यस बोर्डमा बैङ्कले सार्वजनिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका र नविल बैङ्क लिमिटेडको सहकार्यबाहेक अन्य कुनै पनि प्रकारका प्रचार सामग्री राख्न पाउनेछैन ।
सम्झौता अवधिमा वैङ्कले केन्द्रीय कार्यालय र शाखा कार्यालयका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने र शौचालयको मर्मत सम्भार, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा बैङ्ककै हुने महानगरले जनाएको छ ।
वैङ्कले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्नेछैन । सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोक्ने र उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतापछि बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौड््यालले भने, ‘सानो तर महत्वपूर्ण, नागरिकले सुनेको र देखेको सेवा लिन यसप्रकारको सम्झौता भएको छ । सेवाबाट नागरिकले प्रत्यक्ष लाभ लिन पाउनेछन् । यस्तै शौचालयको प्रयोग सम्बन्धी चेतना स्तर बढ्दै जानेछ ।’
त्यस अवसरमा वैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले सहर सबैको भएकोले यसको संरक्षण र व्यवस्थापनमा सबै मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । महानगरको नेतृत्वमा आफूहरुले जिम्मेवारी पाए दायित्व बहन गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।
सम्झौतापछि बैङ्कका प्रतिनिधि मण्डलले महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेटेर आफू महानगरसँग नजिक रहेर दायित्व बहन तत्पर रहेको बताउनुभएको थियो ।

काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध