२१ वडाका ६४ एसइइ उत्तिर्ण विद्यार्थी सम्मानित
२१ वडाका स्थानीयहरुले शिक्षा क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरेको बाकुननी पुचःको आयोजनामा यही पौष ३ गते शनिवारका दिन एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विगत १३ वर्षदेखि शिक्षा क्षेत्रको विकासका लागि क्रियाशील संस्थाका अध्यक्ष गौतम प्रधानको सभापतित्वमा भएको कार्यक्रममा ६४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको पुचःका उपाध्यक्ष कविन्द्र महर्जनले बताए ।
बागमति प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेश सभासद् डा. अजयक्रान्ति शाक्यले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको सुरुवात गर्दै विद्यार्थीहरुको भविष्य आजभोलि इन्टरनेट र मोबाइलको लतमा लागेर अलमलिरहेकोमा अभिभावक वर्गलाई सजग रहन आग्रह गर्नुभयो ।
यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले राजनीतिलाई बुझेर आफ्नो भविष्य निर्धारणको जिम्मा आफैले लिनुपर्ने बताए ।
कार्यक्रममा कामपा २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्य लगायत स्थानीय लब्धप्रतिस्थित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।













