कोभिडका कारण विष्णुमति सरसफाई स्थगित
उपत्यकाको सभ्यतासँग सम्बन्धित दुई प्रमुख नदीहरु मध्ये एक विष्णुमतिको संरक्षण तथा सरसफाईका लागि यही बैशाख १ गतेबाट थालिएको सरसफाई अभियान केही समयका लागि स्थगित हुने भएको छ ।
संघीय प्रतिनिधिसभा सदस्य मा. जीवनराम श्रेष्ठको अगुवाईमा थालिएको अभियानले हरेक महिनाको अन्तिम शनिवार विष्णुमति सरसफाई गर्ने जनाएको थियो तर अहिले नेपालमा कोभिड–१९ को दोश्रो लहर बढेसँगै जनजीवनलाई सुरक्षित पार्नका लागि केही समयका लागि यो अभियान स्थगित गरिएको मा. श्रेष्ठको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

काठमाडौं उपत्यकामा बग्ने बागमती र विष्णुमति नदी यहाँको प्रमुख नदीको रुपमा लिइन्छ । विशेषतः विष्णुमति काठमाडौं जिल्लामा बग्ने गर्दछ । टोखाको विष्णुनाभबाट सुरु हुने नदी टेकुमा बागमतीमा मिसिने गर्दछ ।
बागमतीका साथै विष्णुमतिको पनि संरक्षण गरिनु पर्दछ भन्ने उद्देश्यका साथ मा. श्रेष्ठले थालेको अभियान कोभिड–१९ को महामारी नियन्त्रणमा आएपछि पुनः सञ्चालन गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।








