विष्णुमति सरसफाइ अभियान सुरु

नयाँ वर्ष २०७८ सँगै संघीय सांसद मा. जीवनराम श्रेष्ठको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ ।
विष्णुमति वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाई अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए ।
सरसफाइ अभियानमा माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा१५ का अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जन, अधिकार सम्पन्न वाग्मति सभ्यता एकीकृत विकास समिति, स्थानीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले अझ थप हौसला प्राप्त भएको उनले बताए ।

विष्णुमति सरसफाइ अभियानकाे शुभारम्भ कार्यक्रमलाई सम्बाेधन गर्दै मा. जीवनराम श्रेष्ठ

जीवनमा गरेको अनेकौं क्रियाकलापहरु मध्ये सम्झन लायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गरेको बताए ।
‘यो अभियान जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमति सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो । विष्णुमति खोला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’
खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।
सरसफाई अभियानमा सहभागि प्रदेशसभा सदस्य मा. अष्टलक्ष्मी शाक्यले भने, ‘स्थानीय वासिन्दा, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरी सबैलाई समेटेर यो विष्णुमती नदी सरसफाइ अभियान थाल्नु माननीय प्रतिनिति सभा सदस्य जीवनराम श्रेष्ठज्यूको प्रसंसनीय कार्य हो ।’
‘मानव जीवनमा परिवर्तन ल्याउने हो भने, पहिले सोचमा नै परिवर्तन ल्याउनु पर्छ ।’, उनले भने, ‘नदीमा फोहोर फाल्ने पनि मानव नै हो र त्यही फोहोर सफा गर्ने पनि मानव नै हो । त्यसैले जवसम्म मानवमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना आउँदैन तवसम्म एकपक्षले फोहोर फालिरहने र अर्को पक्षले त्यस फाहोरलाई सफा गरिरहने परम्परा यथावत रहने छ । ’
सरसफाइ सबैकोलागि अति आवश्यक हो, समाजलाई सफा राख्नुपर्छ र फोहोर गर्न नहुने बताउँदै जथाभावी फोहोर गर्न नहुने चेतना सबैमा जागृत होस् भन्ने शाक्यले नयाँवर्षको अवसरमा शुभकामना दिए ।


विष्णुमति नदीको उद्गम स्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ ।
विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध