२३औँ राष्ट्रिय ज्यापु दिवसको संयोजन ग्वल (पशुपति) लाई, ६३ टोलका गुरु सम्मानित
ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २३औँ संयुक्त गुरुपूजा कार्यक्रममा आगामी २३औँ राष्ट्रिय ज्यापु दिवस आयोजना तथा संयोजनको जिम्मेवारी ग्वल (पशुपति) त्वाः लाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा ६३ ज्यापु त्वाः गुथिका गुरु तथा नायःहरूलाई सम्मान गरिएको थियो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले संस्कार, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने गुरुहरू समाजका वास्तविक सम्मानयोग्य व्यक्तित्व भएको बताउनुभयो।
“विद्यालयमा पढाउने शिक्षक मात्र होइन, आफ्नो जीवन समर्पण गरेर नयाँ पुस्तालाई संस्कार, संस्कृति र परम्परा सिकाउने गुरुहरू नै हाम्रो समाजका वास्तविक सम्मानयोग्य व्यक्तित्व हुन्,” उहाँले भन्नुभयो।

उहाँले काठमाडौं महानगरपालिकाले संस्कृति संरक्षणलाई प्राथमिकता दिँदै गुरुहरूलाई प्रदान गर्दै आएको गुरुभत्ता दोब्बर गरी ५० हजार रुपैयाँ पुर्याएको जानकारी दिनुभयो। संस्कृति संरक्षणका लागि गरिएको यो सहयोगलाई खर्च नभई दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ थियो।
“संस्कृति जोगाउने व्यक्तिको आर्थिक अवस्था कमजोर भयो भने परम्पराको निरन्तरता कठिन हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले बदलिँदो समयअनुसार महानगरले आफ्नो तर्फबाट सहयोग बढाएको हो।”
ग्वल (पशुपति) लाई संयोजनको जिम्मेवारी
कार्यक्रममा २२औँ राष्ट्रिय ज्यापु दिवसका संयोजक तथा नरः कोता त्वाः का अध्यक्ष कृष्णबहादुर महर्जन ले काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं ग्वल त्वाः का अध्यक्ष आशामान संगत लाई संयोजनको जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभयो।
महर्जनले राष्ट्रिय ज्यापु दिवसले प्रत्येक टोलको सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा परिचित गराउने अवसर प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले यस वर्षको आयोजक ग्वल (पशुपति) सांस्कृतिक रूपमा अत्यन्त समृद्ध क्षेत्र भएकाले त्यहाँका जात्रा, पर्व र मौलिक परम्पराको थप प्रभावकारी प्रचार–प्रसार हुने विश्वास व्यक्त गर्नुभयो।
संयाेजक जिम्मेवारी प्रदानका क्रममा संगतलाइ प्रमुख अतिथि डंगाेलले फूलमाला पहिराउनुभएकाे थियाे भने विकास काेषका अध्यक्ष मंगलकृष्ण सिंहले ज्यापु दिवस आयाेजनाका लागि दुइ लाखकाे चेक हस्तान्तरण गर्नुभएकाे थियाे ।
संस्कृति संरक्षण मनबाट हुनुपर्छ : आशामान संगत
ग्वल त्वाःका अध्यक्ष तथा काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगत ले महानगरपालिकाले संस्कृति संरक्षणका लागि आर्थिक सहयोग वृद्धि गरेको जानकारी दिँदै संरक्षणको आधार आर्थिक सहयोगभन्दा समुदायको प्रतिबद्धता र जिम्मेवारी भएको बताउनुभयो।
उहाँले ज्यापु महागुथि नेपाःले सांस्कृतिक रूपमा ज्यापु समुदायलाई एकताबद्ध गरेझैँ सामाजिक तथा राजनीतिक रूपमा पनि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
संगतले सम्मानित गुरुहरूमध्ये ९६ वर्षीय भाइराजा महर्जन अहिले पनि युवापुस्तालाई कान्ता दबदब जस्ता परम्परागत बाजा प्रशिक्षणमा सक्रिय रहेको उल्लेख गर्दै उहाँ संस्कृति संरक्षणको प्रेरणादायी उदाहरण भएको बताउनुभयो। साथै ६३ टोलका गुरुहरूले निरन्तर ज्ञान हस्तान्तरण गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो।
संस्कृति संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन आग्रह
ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्यनारायण डंगोल ले ग्वल त्वाःलाई संयोजनको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै वर्षभरि सञ्चालन हुने जात्रा, पर्व तथा सांस्कृतिक गतिविधिबारे व्यापक रूपमा जानकारी गराउन आग्रह गर्नुभयो।
उहाँले विकास कोषको आफ्नै भवन तथा आवश्यक पूर्वाधार तयार भइसकेकाले अब दैनिक कार्यालय सञ्चालन गरी संस्कृति तथा सम्पदा संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। साथै आगामी श्रावण २४ गते आयोजना हुने विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो।
संस्थापकहरूको योगदान स्मरण
विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन ले स्वागत मन्तव्य राख्दै संस्थापक अध्यक्ष स्व. चक्रमान डंगोल को अवधारणाअनुसार स्थापना कालदेखि नै ६३ त्वाः गुथिका गुरुहरूको सम्मान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। उहाँले विकास कोष स्थापना गर्न स्व. तीर्थराम डंगोल ले खेलेको महत्वपूर्ण योगदानको पनि स्मरण गर्नुभयो।
उहाँका अनुसार काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य ले निर्वाचित भएको पहिलो वर्षमै विकास कोषको आग्रहमा गुरुहरूलाई भत्ता दिने घोषणा गर्नुभएको थियो, जसलाई महानगरले निरन्तरता दिँदै आएको छ।
कार्यक्रमका सभापति तथा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह ले कोषले सञ्चालन गर्दै आएका विविध सांस्कृतिक गतिविधिबारे जानकारी गराउँदै २३औँ राष्ट्रिय ज्यापु दिवसको संयोजनको जिम्मेवारी प्राप्त गरेको ग्वल (पशुपति) त्वाः लाई सफल कार्यसम्पादनको शुभकामना व्यक्त गर्नुभयो।











