जुम्लाको विकट गाउँबाट अन्तर्राष्ट्रिय ट्रेल दौडको शिखरसम्म : सुनमाया बुढाले इटालीमा कोर्स रेकर्डसहित ऐतिहासिक उपाधि जितिन्

जुम्ला जिल्लाको पातारासी गाउँपालिकाको दुर्गम गाउँ पेरेमा जन्मिएकी नेपाली अल्ट्रा ट्रेल धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल बाई यूटीएमबी (Lavaredo Ultra Trail by UTMB) १२० किलोमिटर महिला प्रतिस्पर्धामा ऐतिहासिक सफलता हासिल गरेकी छिन्।

सुनमायाले १२० किलोमिटरको कठिन पर्वतीय दौड १३ घण्टा ३३ मिनेट १८ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। यस प्रदर्शनसँगै उनले सन् २०१५ देखि कायम रहेको महिला कोर्स रेकर्डलाई करिब ६ मिनेटले सुधार गर्दै नयाँ कीर्तिमान कायम गरिन्।

प्रतिस्पर्धाको प्रारम्भिक चरणमा उनी अग्रस्थानमा नभए पनि अन्तिम चरणतिर उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियाकी प्रतिस्पर्धी लुसी बार्थोलोम्युलाई पछि पार्दै विजेता बन्न सफल भइन्।

उनको उत्कृष्ट प्रदर्शनपछि प्रतियोगिता आयोजकले सामाजिक सञ्जालमार्फत सुनमायालाई “New Queen of Lavaredo 120K” भन्दै सम्मान व्यक्त गरेका थिए।

जुम्लाको दुर्गम भेगबाट अन्तर्राष्ट्रिय ट्रेल दौडसम्मको यात्रा तय गरेकी सुनमायाले यसअघि दक्षिण अफ्रिका, हङकङ, फ्रान्सलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उल्लेखनीय सफलता हासिल गरिसकेकी छन्। इटालीमा प्राप्त यो विजयले नेपालको अल्ट्रा ट्रेल दौडलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको खेल विश्लेषकहरूको भनाइ छ।

सुनमाया बुढाको यो उपलब्धि नेपाली खेलकुदका लागि गर्वको विषय बनेको छ। सीमित स्रोत–साधन र चुनौतीपूर्ण परिस्थितिका बीच निरन्तर परिश्रम, दृढ इच्छाशक्ति र अनुशासनका साथ अघि बढे अन्तर्राष्ट्रिय मञ्चमा पनि उत्कृष्ट सफलता हासिल गर्न सकिने उदाहरण उनले प्रस्तुत गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध