नेपालभाषा र नेपाललिपिको संरक्षण–संवर्द्धनमा सामूहिक प्रयास आवश्यक
ज्यापू महागुथि नेपाःको आयोजनामा ने.सं. ११४६ तछलाथ्व त्रयोदशी (असार १३) शनिबार नेपालभाषा, नेपाललिपि तथा परम्परागत बाजासम्बन्धी कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका सभापति ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्यनारायण डंगोल रहेका थिए।
कार्यक्रममा नेपालभाषा प्रशिक्षक राधेश्याम महर्जनले ‘नेपाललिपि’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाललिपिको परिचय, इतिहास, विकासक्रम, शैली तथा प्रकारबारे विस्तृत जानकारी गराए। उनले गोपालराज वंशावली, नेपाल–तिब्बत सन्धि, चिनियाँ पत्रलगायतका ऐतिहासिक अभिलेखलाई नेपाललिपिको प्रामाणिक स्रोतका रूपमा उल्लेख गरे। मल्लकाललाई नेपाललिपिको स्वर्णकाल भएको चर्चा गर्दै लिपिको महत्व, पतन, पुनरुत्थान तथा वर्तमान अवस्थाबारे प्रकाश पारे। साथै नेपालभाषा र नेपाललिपिको संरक्षणका लागि भएका राजनीतिक तथा वैधानिक पहलहरूबारे पनि जानकारी दिए।
उनले काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रममा नेपालभाषालाई अनिवार्य विषयका रूपमा समावेश गरेपछि नेपाललिपिको पुनर्जागरणमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गरे। अन्य स्थानीय तहहरूले समेत स्थानीय पाठ्यक्रममार्फत नेपालभाषा अध्यापन सुरु गरेको जानकारी दिँदै यसले भाषा र लिपि संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उक्त कार्यपत्रमाथि बुद्धि रत्न महर्जन, शिशिर दर्शनधारी र रितेश मल्लले टिप्पणी गरेका थिए।
त्यसैगरी लोककवि राजभाई जकःमिले ‘नेपालभाषा : हिजो, आज र भोलि’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालभाषाको ऐतिहासिक महत्व, नेपालको देशभाषाका रूपमा यसको पहिचान तथा संरक्षणमा पुर्खाहरूको योगदानबारे चर्चा गरे। उनले राज्यबाट नेपालभाषामाथि विभिन्न समयमा भएको दमन, भाषा संरक्षणका लागि नेवार समुदायले खेलेको भूमिका, २०२२ सालको भाषा आन्दोलन, सर्वोच्च अदालतको आदेशविरुद्ध भएको आन्दोलन, नेपाल संवत् आन्दोलन तथा गुथि विधेयक आन्दोलनको पनि समीक्षा प्रस्तुत गरे।
उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि, राजनीतिक परिवर्तनले भाषा आन्दोलनमा पारेको प्रभाव तथा नेपालभाषा संरक्षणका लागि समुदायले सञ्चालन गरेका गौरवपूर्ण कार्यहरूको उल्लेख गरे। नेपालभाषालाई गुगल ट्रान्सलेटमा समावेश गरिनु, ज्ञानकोश प्रकाशन तथा विद्यालयस्तरमा नेपालभाषा पठनपाठन सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
राजभाई जकःमिले पछिल्लो समय नेपालभाषा बोल्ने समुदायमै भाषाको प्रयोग घट्दै जानु, सरकारी उपेक्षा, साहित्यकार तथा लेखकको संख्या कम हुनु, संगीत र चलचित्र निर्माणमा कमी आउनु नेपालभाषाका प्रमुख चुनौती भएको उल्लेख गरे।
उनले नेपालभाषाकाे विकासका लागि छुट्टै काेष तयार गरीनु पर्ने र युवा पुस्तालाइ नेपालभाषा संरक्षणकाे महत्व बुझाउनु पर्ने पनि जिकिर गरे ।
उक्त कार्यपत्रमाथि रमिता बज्राचार्य, रत्न मन, अमीर मैयाँ रञ्जित तथा रामभोला महर्जनले टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यक्रमको अर्को सत्रमा वाद्यगुरु धर्म मुनिकारले ‘कोंचाखिं र बय् बाजा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै यी परम्परागत बाजाहरूको सांस्कृतिक महत्व, संरक्षण तथा पुस्तान्तरणका विषयमा अन्तरक्रिया गराएका थिए।
कार्यक्रमको सञ्चालन महासचिव अधिवक्ता बेखानारायण डंगोलले गरेका थिए। ज्यापू महागुथि नेपाःका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रथम उपाध्यक्ष मचाराजा महर्जनले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। कार्यक्रमको अन्त्यमा द्वितीय उपाध्यक्ष सरिता महर्जनले धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा सहभागीहरूले नेपालभाषा, नेपाललिपि तथा नेवार सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकाय, स्थानीय तह, शैक्षिक संस्था र समुदायबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।











