तेश्रो स्टार म्यूजिक भिडियो अवार्ड राष्ट्रिय अवार्डको रुपमा हुने

२०८० कार्तिक १४ बुधवार

ललितपुर/संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण राष्ट्रिय अवार्डको रुपमा हुने भएको छ । संसार क्रिएसन्सबाट गत बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

कार्यक्रममा संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले तेश्रो संस्करणसम्म आइपुग्दा अवार्डलाई व्यापकता दिँदै यसलाई राष्ट्रिय स्तर लग्ने प्रयास गरेको बताए । ‘यस अवार्डलाई संसारकै ठुलो र लामो अवधिको अवार्डको रुपमा गिनिज बुकमा दर्ता गराउन खोजिरहेका छौं । तेश्रो संस्करणमा आइपुग्दा राष्ट्रिय स्तरमा लग्दै यसको नाम संसार राष्ट्रिय म्यूजिक भिडियो अवार्ड्स बनाएका छौं’ क्रिएटिभ डाइरेक्टर महर्जनले भने ।

अवार्डको तेश्रो संस्करणका लागि म्यूजिक भिडियो दर्ता खुल्ला भएको घोषणा पनि क्रिएटिभ डाइरेक्टर महर्जनले गरे । सबै गायक, कलाकार, सर्जकहरुले आउँदो मंसीर मसान्त भित्रमा आआफ्नो गीत, म्यूजिक भिडियो अवार्डका लागि दर्ता गर्न महर्जनले आह्वान गरे ।

संसार क्रिएसन्सले नेपालीहरुको दोश्रो महान चाड तिहार र नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संसार क्रिएसन्सकी संस्थापक प्रेमा संसार महर्जनले संस्थाको परिचयसँगै संस्थाले गर्दै आएका गतिविधिहरुको बारे जानकारी राखीन् ।

ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जन, वरिष्ठ संगीतकार रत्न बेहोशी बज्राचार्य, वरिष्ठ निर्देशक तथा रचनाकार पवन जोशी, रिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ संगीतकार राजु सिंह लगायतले आआफ्ना विचार राखेका थिए । साथै गायिका साथै संसार संगीतालयकी संरक्षक सरिता महर्जन, प्रकृती प्रेमी समूहका संरक्षक लक्ष्मीनारायण सिं सुवाल र वरिष्ठ साहित्यकार विक्रम भक्त जोशीले तिहार र नेपाल सम्वत ११४५ नयाँ वर्षको शुभकामनासहित आआफ्ना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा संसार अनलाइन टिभी युट्युब च्यानलमा अपलोड भएका गीतहरुको सर्जकलाई भ्यूजको आधारमा रोयल्टी वितरण गरिएको थियो । सर्जकहरुलाई गुगलबाट प्राप्त सत प्रतिशत रकम नै सर्जकहरुलाई रोयल्टीवापट प्रदान गरिएको संसार क्रिएसन्सले जनाएको छ । त्यसैगरी युट्युब च्यानलको टप ५ भ्यूज गीतलाई बधाई पत्रसहित सम्मान गरिएको थियो ।

साथमा एज्लिना राईले नृत्य र सरीता महर्जन, स्वतन्त्र संसार महर्जन, सरस्वती मानन्धर, राजेन्द्र श्रेष्ठ, सविना मानन्धर, राजेन्द्र शाक्य, एलन शाही, समा डंगोल, राजु नकर्मी, बीणा महर्जन, चेकराम अवाले र प्यारी सुवाल लगायतका गायक गायिकाले गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध