नेपालभाषा प्रशिक्षण सहायकको तालिमले शिक्षकको मनोबल बढाउँदै

काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायकहरुकाे प्रशिक्षणमा साेमबारबाट सम्पन्न भएकाे छ ।  येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकहरुको महानगरभित्रका ६ वटा विद्यालयमा प्रशिक्षण तालिम संचालन भएकाे थियाे ।

तालिमका क्रममा सहायक प्रशिक्षकहरूलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तकलाई प्रयोगात्मक रुपमा अध्यापन कसरी गराउने भनेर प्रशिक्षण दिइएकाे थियाे ।  स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य वरुण वैद्यले हाल शिक्षकहरु विद्यालय जाने वित्तिकै नेपालभाषामा पढाउन र विद्यार्थीलाई बुझाउन सम्भव नभएको भन्दै अहिले नेपालीमा नै विद्यार्थीहरुलाई सहजीकरण गरिने बताए ।

‘पछि विस्तारै नेपालभाषा सहज हुँदै गएपछि त्यही अनुसार कक्षा हुन्छ। अहिले हामी भाषा, लिपिभन्दा विद्यार्थीलाई नेवा संस्कृति सभ्यता बुझाउने प्रयासमा छौं’ उनले भने।

हाल प्रशिक्षणमा सहभागीहरु मध्ये केही गैर नेवार समेत छन्। नेपालभाषामा पोख्त उनीहरु यो पाठ्यक्रमले आउने दिनमा भाषाको मात्रै नभइ काठमाडौं सभ्यताकै संरक्षण हुने बताउँछन्।

‘यो एक समुदायको मात्र भाषा होइन। काठमाडौंको भाषा हो। यो बुझेर केही बिग्रिँदैन। अब यो भाषाको जगेर्नामा बल पुग्नेछ,’ अदृशा चौधरीले भनिन्।

तालिममा सहभागी भइरहेका शिक्षकहरुले तालिमबाट आफ्नो मनोबल बढेको बताएका छन्। गैर नेवार बाहुल्य हुने विद्यालयमा कसरी पढाउने भन्ने विषयमा अन्यौलमा रहेका शिक्षकहरु अब सरल ढंगले विषयलाई बुझाउन समक्ष भएको बताउँछन्।

यता महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा यही शैक्षिक सत्रदेखि यो पाठ्यक्रम लागू गर्ने भनिएपनि कोभिड संक्रमणका कारण केही असहजता उत्पन्न भएको महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बताए। उनले अहिले केही समस्या देखिएपनि आउने शैक्षिक सत्रदेखि भने कुनै समस्या नहुने बताए।

‘यो तालिम सकिने बित्तिकै शिक्षकहरु विद्यालय पुग्नेछन्। अहिले जति पढाउन सकिन्छ त्यति पढाउने हो। सबै विषयको अवस्था त्यस्तै छ। अर्को शैक्षिक सत्रदेखि सबै कुरा मिल्छ’ उनले भने।

सुवेदीले पाठ्यक्रम महानगरभित्रका सबै विद्यालयमा पुगिसकेको भन्दै पाठ्यपुस्तकपनि अर्को शैक्षिक सत्रसम्म तयार हुने बताए।

काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयलाई यस पाठ्यक्रममा समेटिएको छ।

बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिएको छ भने कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुनेछ। कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध