देशमा शान्ति र सद्भावको कामनासहित काठमाडौं वडा नं. १७ मा सामूहिक कुमारी पूजा
काठमाडौं महानगरपालिका वडा नं. १७ को आयोजनामा तथा के.के. महिला समूहको संयोजनमा सामूहिक श्री कुमारी पूजा सम्पन्न भएको छ।
पूजामा १८४ जना कन्या कुमारी र ३ जना कुमार गरी जम्मा १८७ जना बालबालिकाको सहभागिता रहेको थियो। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै देशमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम रहने कामनाका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले देशमा कुनै किसिमको दुःख–शोक नहोस्, नागरिकबीच शान्ति र सुव्यवस्था कायम रहोस् तथा वडाबासीबीच आपसी सद्भाव र एकता अझ सुदृढ बनोस् भन्ने उद्देश्यले सामूहिक कुमारी पूजा आयोजना गरिएको बताउनुभयो।
उहाँले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समुदायबीच सामाजिक एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।











