नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखामा चन्द्रकृष्ण श्रेष्ठको नेतृत्व
नेवाः पत्रकारहरुको साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको भक्तपुर शाखामा चन्द्रकृष्ण श्रेष्ठ ‘गोपाल’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
दबूको पाँचौं महाधिवेशनको तयारीका क्रममा जिल्ला अधिवेशनहरु भइरहेका छन् । यस क्रममा अन्तिम जिल्ला अधिवेशनको रुपमा भक्तपुर जिल्ला शाखाको अधिवेशन भएको हो । अधिवेशनले सर्वसम्मत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम भक्तपुर शाखाका अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा सञ्चालन गरिएको थियो ।
अधिवेशनकै क्रममा पत्रकार नारायण सुन्दर किलम्बूलाइ “स्व. हरिलाल व श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपाः” (स्व. हरिलाल र श्रीलक्ष्मी श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार) प्रदान गरिएकाे थियाे । किलम्बूलाइ दाेसल्ला, प्रमाणपत्रका साथमा नगद १० हजार प्रदान गरिएकाे थियाे ।
अधिवेशनको उद्घाटन सत्र पछि भएको बन्द सत्रमा जिल्ला सचिव देवेन्द्र प्रजापतिले प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश श्रेष्ठ, महिला उपाध्यक्षमा रेणु त्वानाबासु, सचिव देवेन्द्र प्रजापति, सहसचिव सत्यराम कासिछ्वा, सहसचिव महिलामा विमला शाक्य र कोषाध्यक्ष प्रकाश मल्ल चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा वीरेन्द्र खाइजु, उषाकिरण राणा श्रेष्ठ, रविन्द्र किजु र नेत्रमान कर्माचार्य चयन भएको छ ।
अधिवेशनले आउँदो भाद्र १९ गते हुने संघीय महाधिवेशन र प्रदेश महाधिवेशनको लागि पनि पार्षद चयन गरेको छ । जस अनुरुप केन्द्रीय पार्षदमा रामगोपाल तमखु, रत्न काजी प्रजापति, विश्वराम दुवाल र कृष्ण किसि चयन भए भने प्रदेश पार्षदमा शयाम कुमार था, हरिबहादुर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ र राजन गरु चयन भएका छन् ।
दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनको संयोजकत्वमा उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र सहसचिव सुनिता महर्जन रहेको निर्वाचन समितिले भक्तपुर जिल्लाको नयाँ कार्यसमिति चयन गरेको हो ।











