नेपाल माछामासु व्यवसायी संघको अध्यक्षमा चैत्यप्रसाद शाही निर्वाचित
नेपाल माछामासु व्यवसायी संघको पाँचौं केन्द्रीय अधिवेशनले चैत्यप्रसाद शाहीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। बालकुमारी मन्दिर परिसर, ललितपुरमा बिहीबार सम्पन्न अधिवेशनको सभापतित्व निवर्तमान अध्यक्ष रमेश खड्गीले गर्नुभएको थियो भने संघका संरक्षक दिलबहादुर खड्गी प्रमुख अतिथि रहनुभएको थियो।
अधिवेशनमा महासचिव चैत्यप्रसाद शाहीले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले स्थापना भएदेखि माछामासु व्यवसायीका पसल दर्ता, काठमाडौं महानगरपालिकालाई नीति निर्माणमा सहयोग तथा बधशाला सुधार र व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी दिनुभयो। प्रथम उपाध्यक्ष वीरेन्द्र शाहीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन बाबुकाजी शाहीले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न वक्ताहरूले माछामासु व्यवसाय नेपालको ठूलो आर्थिक क्षेत्र भए पनि राज्यबाट अपेक्षित प्राथमिकता नपाएको गुनासो गरे। कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले अर्बौं रुपैयाँको कारोबार हुने व्यवसायलाई सरकारले अझै व्यवस्थित बनाउन नसकेको बताउँदै व्यवसायीका लागि स्थायी बजार, आधुनिक बधशाला र उचित नीति आवश्यक रहेको धारणा राख्नुभयो।
बाख्रापालन महासंघका अध्यक्ष विष्णुप्रसाद सेढाईले पोषण सुरक्षाका लागि मासु उत्पादन महत्वपूर्ण भएकाले यस व्यवसायलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
वीर गोर्खाका मनोज सापकोटाले नेपाली मासु उद्योगलाई विस्तार गरी भविष्यमा निर्यातयोग्य बनाउन शुभकामना व्यक्त गर्नुभयो।
‘जय नेवाः मांभाय्’ अभियानका विजय खड्गीले खड्गी समुदाय आफ्नो परम्परागत पेशाप्रति गर्व गर्दै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
नेपाल राष्ट्रिय खड्गी समाजका अध्यक्ष नन्दकिशोर शाहीले व्यवसायको आधुनिकीकरणका लागि सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
सभापति रमेश खड्गीले संघ २०५३ सालदेखि व्यवसायीको हकहितका लागि निरन्तर सक्रिय रहेको उल्लेख गर्दै पदाधिकारीहरूले कुनै विदेशी अनुदान वा पारिश्रमिकका लागि नभई सेवाभावले संस्था सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले व्यवसायीहरूलाई व्यवसाय दर्ता तथा आवश्यक प्रमाणपत्र लिन पनि आग्रह गर्नुभयो।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा चैत्यप्रसाद शाही, प्रथम उपाध्यक्षमा वीरेन्द्र शाही, द्वितीय उपाध्यक्षमा उमेश खड्गी, तृतीय उपाध्यक्षमा जितेन्द्र खड्गी, महासचिवमा बाबुकाजी शाही, कोषाध्यक्षमा सुरेश खड्गी तथा सहकोषाध्यक्षमा बिनोद शाहीलाई चयन गरेको छ। केन्द्रीय सदस्यमा हिराकृष्ण शाही, दिलकाजी शाही, सन्तबहादुर शाही, विनोद शाही, अनिता शाही, उर्मिला शाही, मुकेश खड्गी, रामकृष्ण खड्गी र लक्ष्मीप्रसाद श्रेष्ठ चयन भएका छन्।
कार्यक्रममा रमेश खड्गीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कार्यसम्पादन गरेकाेमा काभ्रे जिल्लालाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले माछामासु व्यवसायलाई आधुनिक, व्यवस्थित र सम्मानित पेशाका रूपमा स्थापित गर्न राज्य र व्यवसायीबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए।











