पत्रकारितामा एआई प्रविधिको प्रयोगबारे दुई दिने प्रशिक्षण सम्पन्न

भक्तपुर, जेठ २४ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, बागमती प्रदेशको आयोजनामा ‘पत्रकारितामा एआई प्रविधिको प्रयोग’ विषयक दुई दिने आधारभूत प्रशिक्षण कार्यक्रम भक्तपुरको बोडेमा सम्पन्न भएको छ। कार्यक्रम जेठ २३ गते शुक्रबार र २४ गते शनिबार सम्पन्न भएको हो।

कार्यक्रमको सभापतित्व फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठको उपस्थिति रहेको थियो। फोनिज महासचिव तथा तालिमका प्रशिक्षक समीर बलामी विशेष अतिथि रहनु भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष दिलबहादुर लामाले दिनुभयो।

कार्यक्रमको सुरुवातमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले तालिम अवधिमा तयार पारेका सामग्रीहरू पनि प्रस्तुत गरेका थिए।

सहभागी लक्ष्मी शाक्यले तालिमबाट प्राप्त अनुभव साझा गर्दै भनिन्, “हामी एआईको बारेमा सुन्दै आएका थियौं, तर यसको प्रयोग र व्यावहारिक पक्षबारे बुझाइ धेरै कम थियो। यो तालिमबाट कन्टेन्ट इन्डस्ट्रीमा एआईको विविध प्रयोग, पत्रकारितामा यसको सम्भावना, र व्यक्तिगत रूपमा कसरी सामग्री सम्पादन गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त भयो। नेपाल अझै प्रविधिको प्रयोगमा ढिला गर्दै आएको छ, तर यस्तो तालिमले हामीलाई गति दिन्छ।”

नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर श्रेष्ठले जनजाति पत्रकार उत्पादन तथा नेतृत्व विकासको लागि यस्ता तालिमहरू अझै आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सम्पादक तहसम्म जनजाति पत्रकार पुर्‍याउन सक्ने क्षमता विकासका लागि निरन्तर तालिम आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि सुरेश श्रेष्ठले तालिमको व्यवस्थापनप्रति आयोजकलाई धन्यवाद दिँदै वर्तमान युगमा प्रविधिमैत्री पत्रकारिताको आवश्यकता औंल्याउनुभयो। उहाँले भने, “आजको युगमा एआई प्रविधिले पत्रकारितामा ठूलो फड्को मारेको छ। समाचार लेखन, सम्पादन, प्रस्तुति, विश्लेषणदेखि गीत गाउने र समाचार पढ्ने काम समेत एआईबाट भइरहेको छ। यस्तो प्रविधिलाई आत्मसात गर्दै पत्रकारितामा अघि बढ्न हामी तयार हुनुपर्छ।”

उहाँले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएको विकृति र फेक न्युजको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भन्नुभयो, “आज सत्य र असत्य छुट्याउन गाह्रो भइरहेको छ। पत्रकारहरूले तथ्यमा आधारित, निष्पक्ष र प्रमाणित समाचार प्रस्तुत गर्नुपर्छ। कुनै पनि पार्टीको समर्थन वा विरोध नगरी सत्य समाचार सम्प्रेषण गर्नु नै पत्रकारको धर्म हो। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने साहस पत्रकारितामा हुनुपर्छ।”

श्रेष्ठले पत्रकारिताको विश्वसनीयता घट्दै गएको र जनताले समाचारमाथि विश्वास गर्न छोड्दै गएको अवस्थालाई गम्भीरतापूर्वक लिने बेला आएको उल्लेख गर्दै फिल्डमा गएर सत्यतथ्य संकलन गर्नुपर्नेमा जोड दिनुभयो।

दुई दिने तालिमले सहभागीहरूलाई एआई प्रविधिको प्रयोगका माध्यमबाट पत्रकारितालाई अझ प्रभावकारी बनाउने दिशातर्फ प्रोत्साहित गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध