आर्यावलोकितेश्वर तुतः मुना पुस्तक विमोचन

श्री आर्यावलोकितेश्वर करुणामय संरक्षण समितिले प्रकाशन गरेको विविध स्तोत्रहरुको संग्रह पुस्तक “आर्यावलोकितेश्वर तुतः मुना” यही फागुन २४ गते शनिवार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विमोचन गर्नुभएको छ ।
उपप्रमुख डंगोलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मन्तव्य राख्नु हुँदै महानगरपालिकाले काठमाडौंको संस्कृति सम्पदाको संरक्षणका लागि कार्य गर्दै आएको बताउनु भयो । उहाँले यहाँका मठमन्दिर तथा पाटी पौवाको निर्माणले मात्र सम्पदा संरक्षणको कार्य पूरा नहुने बताउनु हुँदै त्यहाँ हुने भजनकीर्तन, स्तोत्रपाठ जस्ता गतिविधिले त्यसलाई जीवन्तता प्रदान गर्ने भएकोले काठमाडौं महानगरपालिका यस्ता सम्पदाहरुको संरक्षणका लागि पनि कार्य गर्दै आएको बताउनु भयो ।
काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको आर्थिक सहयोगमा प्रकाशित पुस्तक विमोचनका क्रममा पुस्तक प्रकाशनका लागि पाँच हजारभन्दा बढी आर्थिक सहयोग प्रदान गर्नुहुने दाताहरु रामेश्वर सिं महर्जन, जगतनारायण महर्जन, श्रीकृष्ण महर्जन, धनमाया श्रेष्ठ महर्जन र भुवनकेशरी महर्जनलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष रामेश्वर सिं महर्जनको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनले आफू पनि सोही टोलको सदस्य भएको नाताले यस्ता कार्यमा सहयोग गर्न सदैव तत्पर रहेको बताउनु भयो । महानगरको नीति अनुरुप एउटै कामको लागि दुई ठाउँबाट बजेट निकासा गर्न नमिल्ने बताउनु हुँदै वडामा कुनै पनि किसिमको विकास निर्माण गर्नका लागि वडा सक्षम रहेको र वडामा गर्नु पर्ने कुनै पनि कामको लागि आफूलाई निवेदन प्राप्त भएमा तत्काल त्यसको सम्बोधन गरीदिने वडाध्यक्ष महर्जनले कार्यक्रममा बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनुभएका टोलका थकाली एवम् मूलगुरु भाइराजा महर्जनले पुस्तक प्रकाशन कार्य एकदमै सराहनीय भएको बताउनु हुँदै यस्तो कार्य सदैव गर्दै अगाडि बढ्न समितिलाई सुझाव दिनुभयो ।
कार्यक्रममा स्वागत गर्नुहुँदै समितिका सचिव अनिता महर्जनले लस्कःननि अवस्थित लोकेश्वर मन्दिरमा हरेक वर्ष गुंलाभर स्तोत्रपाठ गर्दै आएको भएता पनि पाठ गरिने स्तोत्रहरु विभिन्न पुस्तकहरुमा छरिएर रहेको र पाठ यथेष्ठ मात्रामा नपुग्ने भएकोले समितिमा सल्लाह भए बमोजिम पुस्तक नै तयार पारिएको बताउनु हुँदै यसको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
समितिका कोषाध्यक्ष बालमुकुन्द महर्जनले संचालन गर्नुभएको कार्यक्रममा समितिका सदस्य एवम् कामपा १२ वडाकी महिला सदस्य नानीहेरा डंगोलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध