पुस्तक विमोचन तथा विमर्श सम्पन्न

नेपाल स्रष्टा समाजको आयोजनामा यही मंसिर १० गते बुधवार “चित्रमय चाडपर्वहरुको देश ः नेपाल” पुस्तक विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विमोचित पुस्तकबारे वरिष्ठ साहित्यकार सितल गिरी र इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

पुस्तकबारे समिक्षा गर्नुहुँदै समालोचक गिरीले विमोचित पुस्तक नेपालमण्डलको संस्कृति बुझ्नको लागि अत्यन्त उपयोगी पुस्तक भएको बताउनु भयो । उहाँले नेपालमण्डलबाट बाहिर गएका नेवारहरु भाषा, संस्कृति र चाडपर्वहरुसँग जोडिएको बताउनु हुँदै लेखकले पुस्तकमा लोप हुँदै गइरहेको धार्मिक संस्कृतिको बारेमा प्रकाश पारेको जिकिर गर्नुभयो ।

यस्तै अर्का समीक्षक डा. श्रेष्ठले पुस्तक नेपालमण्डलको संस्कृति विषयमा केन्द्रीत भएर लेखिएको एक संस्कृति विश्वकोष नै भएको बताउनु भयो । पुस्तकमा संग्रहित १०७ वटा लेखहरु जानकारीमूलक र नूतन ज्ञानको समेत स्रोत भएको उहाँले बताउनु भयो । उहाँले इतिहास, संस्कृति र पुरातत्वको अध्ययन गर्नेहरुको लागि यो पुस्तक अनिवार्य भएको पनि सो अवसरमा बताउनु भयो ।

पुस्तकका लेखक प्रेममान डंगोलले पुस्तक लेखनको प्रसंग कोट्याउनुहुँदै नेपालमण्डलमा मनाइने विभिन्न जात्रापर्वहरु अत्यन्त रमाइलो हुने र त्यसलाई सम्झिँदा मात्र पनि चलचित्र जस्तै मनमा आनन्दमय चित्रको परिकल्पना हुने भएकाले पुस्तकको नाम चित्रमय चाडपर्वको देश ः नेपाल राखिएको बताउनु हुँदै पाठकहरुलाई पुस्तक पढेर प्रतिक्रिया दिन पनि अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध