काठमाडौंमा प्रथम वडा कप ज्यूताईदो (फुलकन्ट्याक्ट कराते) प्रतियोगिता हुने
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित काठमाडौंमा प्रथम वडा कप ज्यूताईदो (फुलकन्ट्याक्ट कराते) प्रतियोगिता आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत फुलकन्ट्याक्ट कराते महासंघ तथा नेपाल राष्ट्रिय ज्यूताईदो संघको संयुक्त आयोजनामा यही जेठ ९ र १० गते काठमाडौं महानगरपालिका–१२ मा प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन्।
आयोजकका अनुसार प्रतियोगिता काठमाडौं महानगरपालिका–१२ को सहकार्य र समन्वयमा सञ्चालन हुनेछ। खेलाडीहरूको सीप विकास, खेलकुदको प्रवर्द्धन तथा स्थानीय स्तरमा कराते खेललाई संस्थागत रूपमा विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
प्रतियोगितामा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका खेलाडीहरू सहभागी हुनेछन्। पुरुषतर्फ ३० केजी मुनि, ३५ केजी मुनि, ४५ केजी मुनि, ५५ केजी मुनि र ५५ केजी माथि गरी पाँच तौल समूहमा तथा महिलातर्फ ४५ केजी मुनि, ५५ केजी मुनि र ५५ केजी माथि गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
कुल आठ तौल समूहमा करिब २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ।
विजेता खेलाडीहरूलाई प्रमाणपत्र, मेडल, शिल्ड तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसमा काठमाडौं महानगरपालिका–१२ को सहयोग रहने आयोजकले जनाएकाे छ। कार्यक्रम खाेल्चापाखा स्पोर्ट्स क्लब, ह्यूमतमा आयोजना गरिनेछ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सञ्चार माध्यम, खेलप्रेमी तथा स्थानीय समुदायलाई सक्रिय सहयोग र सहभागिताका लागि आग्रह समेत गरेको छ।









