महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यसहित आयुर्वेदिक हर्बल साबुन तालिम
किलाबहाः मिसा पुचःको आयोजनामा तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा महिलाहरूका लागि सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम अन्तर्गत “मुख धुने तथा नुहाउने आयुर्वेदिक हर्बल साबुन बनाउने तालिम” सुरु गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नं. १२ मा आयोजित कार्यक्रममा वडा सदस्य पुष्प रत्न प्रजापतिले तालिमको उद्घाटन गर्नुभएको हो।
कार्यक्रम मिसा पुचःकी अध्यक्ष संगीता रंजितको सभापतित्वमा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै विशेष अतिथि पुष्प रत्न प्रजापतिले तालिम लिएर मात्र नहुने, त्यसलाई व्यवहारमा लागू गरी आयआर्जनमा जोडिन आवश्यक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय उत्पादन तयार गरी सुरुमा आफ्नै परिवार, आफन्त तथा छरछिमेकबाट बजार विस्तार गर्दै आम्दानी वृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सभापति संगीता रंजितले तालिम सञ्चालनको उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराउँदै महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तालिम आयोजना गरिएको बताउनुभयो।
आयोजकका अनुसार उक्त तालिम यही जेठ १५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा बागमति प्रदेशसभा सदस्य मा. समिता खड्गी श्रेष्ठ, कामपा १२ वडाकी महिला सदस्य नानीहिरा डंगाेलकाे पिन विशेष उपस्थिति रहेकाे थियाे ।









