विश्व बाल साहित्य र संगीत सम्मेलन सम्पन्न
वर्ल्ड नेवाः अर्गनाइजेशन, अमेरिका शाखाकाे आयाेजनामा नेपाल सम्वत ११४१ नयाँ वर्षकाे उपलक्ष्यमा १६ वर्ष मुनिका बालबालिकाहरूका बीच हलिं नेवाः मचा साहित्य व संगीत सम्मेलन (विश्व नेवार बाल साहित्य र संगीत सम्मेलन) २०७७ मंसिर १३ गते शनिवार सम्पन्न भएकाे छ ।
नेपालभाषासेवी एवं साहित्यकार केशरमान ताम्राकारकाे संयोजनमा भएकाे कार्यक्रममा अमेरिकाका विभिन्न राज्य र नेपालबाट गरी २५ जना बालबालिकाकाे सहभागिता रहेकाे थियाे । सहभागीहरूले कथा, कविता, लेख वाचन तथा गीतसंगीत प्रस्तुत गरेका थिए ।
नेपाली समय बिहान ८ बजे जुम मार्फत भएकाे कार्यक्रममा नेपालबाट लोचनतारा तुलाधरकाे प्रयासमा ‘उदाय् सः मचा दबू’ कार्यक्रममा सहभागिता जनाइ सकेका बालबालिकाहरूले सहभागिता जनाएका थिए ।
साहित्य र संगीत सम्मेलनमा युजला शिलाकार, अभिरुप तुलाधर, आहाना तुलाधर, रेयन तुलाधरले कथा वाचन गरी सुनाएर्का थिए ।
कार्यक्रमका संयाेजक केशरमान ताम्राकारले कार्यक्रममा स्वागत गर्दै आजका बालबालिका नै भाेलिका कर्णधार भएकाले उनीहरूकाे प्रतिभा उजागर गर्न हाैसला प्रदान गर्नु पर्ने बताए । आज बालबालिकालाई हाैसला दिन सके भाेलि तिनै बालबालिका राम्रा साहित्यकार बन्न सक्ने धारणा उनले व्यक्त गरे ।
अर्गनाइजेशन अमेरिका शाखाका अध्यक्ष प्रमेश श्रेष्ठकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे अन्त्यमा नेपालबाट लोचनतारा तुलाधर, सुनिता मानन्धर र क्यालिफेर्नियाबाट रीता देवी प्रधानले मन्तव्य राखेका थिए ।








