दिदी–भाइको पवित्र सम्बन्धको प्रतीक भाइटीका

हरेक वर्ष कार्तिक शुक्ल दुतियाका दिन भाइटीका पर्व नेपालमा धूमधामका साथ मनाइन्छ । यम पञ्चकको अन्तिम दिनका रुपमा लिइने यो दिन भाइको जीवन रक्षा तथा लामो आयूको कामना गरेर भाइको पूजा गर्ने गरिन्छ ।
भाइटीकाकै दिन काठमाडौंको रानीपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दिर पनि खोलिने गरिन्छ । यस दिन दिदी बहिनी नभएका दाजु भाइहरु यहाँ गएर टीका लगाउने चलन रहेको छ ।
श्रुति परम्परा अनुरुप परापूर्वकालमा एक जना दिदीले यसै दिन बिरामी परिरहेका आफ्नो भाइको जीवन रक्षाका लागि पूजा गर्दा भाई निको भई दीर्घजीवन बाँचेको कथा रहेको छ । यसैदिन मृत्युको देवताका रुपमा लिइएको यमराजले आफ्ना दिदी यमुनालाई भेटन जाने गर्दछ भन्ने पनि पौराणिक कथा रहेको छ ।
भाइटीका विशेष गरेर दिदीले आफ्नो साख्खै भाईलाई गर्ने पूजा हो । तथापि नेपाली परम्परामा नातामा भाइ पर्ने व्यक्तिलाई पनि यस दिन आफ्नै भाइ सरह मानेर पूजा गर्ने चलन रहेको छ । भाइ टीका भने पनि यस दिन छोरीचेलीहरुले दाजु र भाइ दुवै जनालाई पूजा गरेर दीर्घायूको कामना गर्ने चलन रहेको छ ।
नेपालको कानूनमा सामाजिक व्यवहार सुधार ऐन (२०३३) को परिच्छेद २ (ख) मा “नजीकको नातेदार” भन्नाले जुन व्यक्तिको सामाजिक व्यवहार हुने हो, सो व्यक्तिको बाबु पक्ष र आमा पक्षका चार पुस्ता भित्रको नातेदार सम्झनु पर्छ र सो शब्दले तेह्र दिनसम्म जूठो बार्नु पर्ने दाजु भाइको परिवार, भान्जाभान्जी, छोरीपट्टिको नाति–नातिनी, फुपूको छोरा छोरी, जेठी आमा र सानीआमाको छोरा छोरी, छोरी ज्वाइँ, बहिनी–ज्वाइँ, भिनाज्यू र मीतलाई समेत जनाउँछ’ भन्ने उल्लेख गरिएको छ ।
भाइटीकाका दिन साख्खै दाजुभाइको मात्र पूजा गरिने भएता पनि अगाडि भने जस्तै नातामा दाजु–भाइ पर्नेलाई पनि पूजा गर्ने गरिन्छ । नातामा दाजु भाइ पर्ने भन्दा आमाका दिदीबहिनी तथा दाजुभाइ र बुबाका दाजु भाइ र दिदीबहिनीका छोराछोरीलाई समेत बुझिने गरिन्छ ।
भाइटीकाका दिन साख्खै दाजुभाइ नहुनेहरुले मामा–फुफुका छोराछोरी वा ठूलीआमा (आमाकी दिदी) –सानीआमा (आमाकी बहिनी)का छोराछोरीहरु बीच पनि भाइटीका गर्ने चलन रहेको छ ।
यसरी भाइटीकाका दिन पूजा गरिने भएकै कारण नेपाली समाजमा आमा–बुबाको दाजुभाइ–दिदीबहिनीका सन्तानहरुबीचको विवाहलाई स्वीकार गरिँदैन । यसलाई दाजु–बहिनी वा दिदी–भाई बीचको विवाहकै रुपमा अस्वीकार गर्ने गरिन्छ ।
नेपाली समाज त्यसमा पनि विशेष गरेर नेवार समाजमा नजिकको नातामा भएको विवाहलाई स्वीकार गरिँदैन । नेवार संस्कृतिमा आमाका दिदी, बहिनी, दाजु, भाइ तथा बुबाका दिदी, बहिनी, दाजु, भाइका सन्तानलाई पनि साख्खै दाजु–बहिनी वा दिदी–भाइको रुपमा लिइन्छ । कथंकदाचित दाजु–बहिनीबीच विवाह गरेको खण्डमा सामाजिक बहिस्कार गर्ने चलन रहेको छ ।
यसरी विवाह गर्नेलाई सामाजिक बहिस्कारका साथै घरपरिवारले पनि अस्वीकार गर्ने गर्दै आएको छ । जसका धेरै उदाहरणहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध