‘खड्ग पायः जात्रा’ लोर्कापण
नयाँ वर्ष नेपाल सम्वत ११४१ को अवसर पारेर ‘खड्ग पायः जात्रा’ लोर्कापण गरिएको छ । पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक लोपोन्मुख लिच्छविकालिन खड्गजात्रा (पायाः) सँग सम्बन्धित छ ।
महादुर्गाले महिषासुरको बध गरि मानव जगतको रक्षा गरेको उपलक्ष्यमा विजयादशमीमा विजयउत्सवको रुपमा मनाइने धार्मिक मान्यता बोकेको यस जात्रा सांस्कृतिक बाजागाजासहित उत्सव मनाउनेसँग मात्र सम्बन्धित छैन । लिच्छवीकालदेखि मल्ल र शाह हुदै गणतन्त्रसम्म आइपुग्दा पनि सबै नेपाली सुन्दर फूलबाट उनेको माला झै अविछिन्न र एक्यबद्ध भएको सन्देश रुपमा लिइएको छ ।
खड्ग हातमा लिएर गरिने जात्रा लिच्छवीकालमा लडाइको रणनीतिअनुरुप पनि विकास भएको, मल्ल राजाहरुको उदयसँगै जात्रामा विभिन्न देवीनाचहरु समावेश गरेर थप उल्लासमय बनाएको र जात्राको महत्व, सुरुवात र जात्रासँग सम्बन्धित गुठी, खलः पुचः बाजागाजा र फूलबारेमा पुस्तकमा वर्णन गरिएको छ ।
वरिष्ठ संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक पढेर नेवारहरुको संस्कृतिमा एउटा अलगधारको पायाः सस्कृति (खड्ग सिद्धि प्राप्त गर्ने संस्कृति) को अनुभूत गर्न पाएको बताए । उनले पुस्तकबाट जात्राको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक पक्षका धेरै ज्ञातव्य, रोचक, प्रासंगिक कुराहरु थाहा पाउन सकिने कुरा व्यक्त गरे ।

ललितपुर उद्योग वाणिज्य संघ– यल सांस्कृतिक पर्व संरक्षण समितिद्धारा प्रकाशित पुस्तक विमोचनमा पाटन दरवार क्षेत्रमा २०५२ देखि रोकिएको तलेजु मन्दिरबाट निकालिने मल्लकालिन पायो जात्रा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले सम्बन्धित गुठीयार मिलेर प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा यल सांस्कृतिक पर्व संरक्षण समितिले पाटन दरवार क्षेत्रमा २०५२ देखि रोकिएको लिच्छवीकालिन खड्ग जात्रा पुनः सञ्चालनमा ल्याउन योगदान गर्ने र परम्परादेखि हालसम्म निरन्तर रुपमा जात्रापर्व चलाउदै आएका गुठी, खलः, पुचः र विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका छन् ।

सम्मानित हुनेहरुमा पाटन दरवारको मू छेँ आगम घर, ठेचोको नवदुर्गा गुठी, धंगु खलः हौगः, नेपाल राष्ट्रिय खड्गी समाल यल, काः मंका गुठी च्यासल, कायगुननी कजी खलः पायो गुठी, मुहाली खलः, नवदुर्गा धिमे पुचः ठेचो, नवदुर्गा महिला समूह ठेचो, कात्तिक नाच संरक्षण समिति, अष्टमातृका नाच व्यवस्थापन समिति, पाटन पटुको टोल सुधार समिति, तझ्याः पायो छन् । व्यक्तिहरुमा कान्तिपुरकर्मी माली, ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष सविन श्रेष्ठ, सुरेन्द्र माली, राजेश बज्रचार्य, सुनिल महर्जन र विकाश खड्गी छन् ।
समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, ललितपुरका सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेकाले बन्द भएको संस्कृति सञ्चालन सम्भव भएको बताएका छन् । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले संस्कृति सम्पदा जर्गेना गर्न सम्बन्धित गुठीयार सम्पर्कमा आएमा सक्दो सहयोग गर्न प्रतिबद्धता जनाए ।








