लायन्सको चार्टर हस्तान्तरण तथा चार्टर नाइट सम्पन्न
समाजसेवाका लागि विश्व विख्यात संस्था लायन्स क्लबको नेपालमा पनि दिनप्रतिदिन लोकप्रियता बढ्दै गइरहेको छ । यसैक्रममा लायन्स क्लबका विभिन्न शाखाहरु विस्तार हुने क्रम पनि बढेको छ । यसै क्रममा हिजो मात्र लायन्स क्लब अफ काठमाडौंको दुई वटा नयाँ शाखाको चार्टर हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं (एलसीके) टेम्पल मां हारती र लायन्स क्लब अफ काठमाडौं डिभाइन इनर्जीको हिजो चार्टर हस्तान्तरण गरिएको हो ।

रेकी, योगा तथा प्राकृतिक चिकित्साका माध्यमबाट लामो समयदेखि समाजसेवा सक्रिय रहनु भएका प्राकृतिक चिकित्सक डा. गोपाल प्रधानको अध्यक्षतामा गत वर्ष गठन भएको टेम्पल मां हारतीको चार्टर क्लबका स्पोन्सर एलसीके सिद्धिका अध्यक्ष अनिता खड्का रायमाझीले गर्नुभएको थियो ।

यसैगरी एलसीके टेम्पल मां हारतीका अध्यक्ष डा. प्रधानले स्पोन्सर गरेको क्लब डिभाइन इनर्जीका अध्यक्ष जीवन महर्जनलाई पनि सोही कार्यक्रममा चार्टर हस्तान्तरण गरिएको थियो ।
एलसी ३२५ बी १ का डिस्ट्रिक्ट गर्भनर मन बहादुर रोकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
क्लब सिद्धिका पूर्व अध्यक्ष संगीता रंजितले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, काउन्सिल सेक्रेटरी राजेन्द्र लम्साल लगायतको उपस्थिति रहेको थियो ।

यसैक्रममा एलसीके सिद्धिको तेश्रो चार्टर नाइट पनि सम्पन्न गरिएको थियो ।








