महर्जनकै नेतृत्वमा समारोह समिति

नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४१ मनाउन समारोह समिति गठनको लागि भेला बोलाउने अवस्था कोरोना महामारीको कारण नरहेको सन्दर्भमा ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४०’ मै समाविष्ट संघसंस्थाका प्रतिनिधिहरुलाई निरन्तरता दिँदै श्री रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन भएको एक प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।
नेपाल संवत् ११४१ का वार्षिक कार्यक्रम तथा समारोह मनाउन समितिका सल्लाहकार, नेवार अगुवाहरुको सल्लाहबमोजिम समारोह समितिको ने.सं. ११४० कौलाथ्व द्वादशी (असोज १२ गते) बसेको बैठकले यसप्रकार समारोह समिति गठनको निर्णय गरेको हो । यस समितिमा समाविष्ट सम्बन्धित संघसंस्थाले आ–आफ्ना प्रतिनिधि हेरफेर गर्न सकिने तथा गत वर्ष समाविष्ट नरहेका संघसंस्थाले यस वर्षको लागि प्रतिनिधि पठाउन सकिने पनि बैठकबाट निर्णय भएको जनाएको छ ।
कोरोना महामारी यथावत रहेको अवस्थामा नेपाल संवत् ११४१ को नव वर्षको समारोह कसरी मनाउने भन्ने सन्दर्भमा नेपाल संवत् आन्दोलनका अगुवा व्यक्तित्व तथा संघसंस्थाहरुसँग छलफल गरी चाँडै निर्णय दिइने भएको छ ।

समितिका अध्यक्ष महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कामकाजमा नेपाल संवत्लाई प्रयोगमा ल्याउन, नेपाली राष्ट्रियता सुहाउँदो संवत् सम्बन्धमा आवश्यक नीति बनाउन सरकारलाई बाध्य पार्ने, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यको लागि अझै यस आन्दोलनको आवश्यकता रहेको छ । त्यसैले नेपाल संवत्को सांस्कृतिक आन्दोलनको गौरवपूर्ण इतिहासले हामीलाई दिएको जिम्मेवारीप्रति ्गम्भीर भएर सबैले आ–आफ्नो स्तरमा नेपाल संवत् वर्षैभरि मनाउन तथा सरकारी कामकाजको प्रयोगमा ल्याउन दबाबपूर्ण अभियान चलाउन पनि अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध