ज्यापु संस्कृतिको पहिचान “मू धिमे” र “धुन्या”–२
ठूलो धिमे बाजा १२ वर्षमा एक पटक नयाँ पुस्तालाई सिकाईने गर्दछ । यस्तो प्रक्रियालाई धिमे बाजाको कला हस्तान्तरण प्रक्रियाको रुपमा लिइन्छ । नयाँ युवा पुस्तालाई सिकाई सकेपछि पूर्णताका लागि नाथेश्वरको पूजा गरी समापन गरिन्छ । यसलाई ‘धिमे पिदने’ भनिन्छ ।
सोहि अवसरमा धिमे बाजा र धुन्यालाई समेत निष्तिनाथकै रुपमा पुजिन्छ । यस्तो धिमे बाजासँगै सहायक बाजाको रुपमा धुन्या, भुस्या, कँय्पुइँको समिश्रण हुने हुन्छ । यसैगरी धुन्या नभएको टोलहरुमा पोँगा बाजा बजाईन्छ ।
यलय् प्व धिमे (सानो धिमे बाजा) ः
काठमाडौं उपत्यकाका ज्यापुहरुले बजाउने अर्को बाजाको रुपमा प्रयोग गर्दै आएको बाजा यलय् प्व धिमे बाजा हो । उपत्यकामा नेवार अन्तर्गत ज्यापु समुदायको साँस्कृतिक सम्पतिका रुपमा यसलाई लिइन्छ र यो तालबाजा अन्तर्गत पर्दछ । यो मू धिमे बाजा भन्दा अलि सानो हुन्छ र यसलाई पनि बायाँपट्टि हात र दायाँपट्टि बेतको पौ धिमे कथिले ताल दिएर बजाईन्छ । दुवैपट्टि जनावरको छालाले मोडेर बनाइने यो बाजा उपत्यकामा बसोबास गर्दै आएका कुलु जातिले नै बनाउँदै आएका छन् । नेवार भाषामा यल भन्नाले पाटन अर्थात् ललितपुर हो । यस धिमेबाजालाई ललितपुरबाट ल्याइएको हो भन्ने कथन छ । त्यसकारण यलेप्वः अर्थात् यलप्वः नामाकरण गरिएको हो भन्ने जनविश्वास रहेको छ । यो धिमे बाजा आकारमा सानो भएकोले यसलाई चिग्व धिमे बाजा भनिएको हो । चिग्वः धिमे बाजामा प्रचलित बोलहरु बजाउन सिकाउन खासै कठोर नियम नभए पनि मू धिमे बाजा सिकाउन भने काठमाडांैका ज्यापू जातिका पुरुषहरु ‘वःलाः छोयेगु’ (काठमाडांैका ज्यापूहरुले आफ्ना बच्चाहरुलाई स्वयम्भू, भद्रकाली, पचली आदि धार्मिक स्थलमा लगि गरिने धार्मिक संस्कार) सकिएको हुनुपर्ने नियम छ । वःलाः छोयेगु संस्कार सम्पन्न भइसकेको व्यक्ति नै धिमे बाजा खलःमा भित्रिन योग्य मानिन्छ । यलय् प्व धिमे बाजामा धुन्याको प्रयोग गरिंदैन । यस्तो बाजा बजाउँदा यसले चार वटा तालको बोललाई राम्ररी दिइन्छ । सानो धिमे बाजा हिजोआज नयाँ पुस्ताका युवती तथा महिलाहरुलाई पनि सिकाइने गर्दछन् । यस्ता बाजा काठमाडौं उपत्यकामा रहेका ३२ वटा ज्यापु टोलहरु मध्ये कुनै टोलहरुमा राखिएका हुन्छन् त कुनै टोलहरुमा राखिएका हुँदैनन् । सानो किसिमको धिमे बाजाको पुजा गराईमा पनि फरक छ । ठूलो धिमे बाजाको पूजा गर्दा प्रक्रिया तथा विधि मिलाई ठूलै रुपमा पूजा गर्ने गर्दछ तर सानो धिमे बाजाको पूजा गर्दा त्यति ठूलो विधि मिलाई पूजा गर्नु पर्दैन । सानो धिमे बाजा बाह्रै महिना र बाह्रै काल सिकाइने गरिन्छ । सानो धिमे बाजा सिकाईमा समयको पावन्दी र रोकटोक छैन । ज्यापु समुदायमा हरेक किसिमको जात्रा, पर्व तथा उत्सवहरुमा अमूल्य स्वर तथा आनन्दमय ध्वनि दिने हुँदा यस्ता किसिमका उत्सवहरुमा जात्राको प्रतिकको रुपमा धिमे बाजालाई लिईन्छ ।
धिमे बाजाको सिकाई ः
धिमे बाजा बजाउने सीप पनि ज्यापु जातिका परम्परागत पुर्खाहरु वा गुरुहरुद्वारा सिकाईंदै आइरहेका छन् । पुख्र्यौली रुपमा सीपको हस्तान्तरण हुँदै आई धिमे बाजा अहिलेसम्म पनि हाम्रो अगाडि जीवित संस्कृतिको रुपमा लिंदै आईरहेका छन् । ज्यापु जातिको मात्र सहभागिता हुने ब्रतबन्ध भन्दा पहिले गरिने एक प्रकारको संस्कृति “वःलाः” हो । यस किसिमको कार्यक्रम ज्यापु जातिका छोरा मान्छेहरु विषेशगरी जो जन्मेदेखि एक रात पनि बाहिर बिताएका हुँदैनन्, त्यस्ता छोराहरुलाई बाहिर ल्याउनको लागि वा व्यवहारिक ज्ञान दिनको लागि गरिने एक प्रकारको संस्कार वःलामा बाहिर ल्याईएका हुन्छन् । यस क्रममा छोरा मान्छेहरुलाई आ—आफ्नो समाजले मानिएका विभिन्न शक्ति पीठहरु वा मठमन्दिरहरुको पाटि पौवामा एक रात बास बस्न लगाउँछन् । यो प्रक्रिया ३ बर्षसम्म निरन्तर रुपमा चलिरहन्छ । यसै वःलाः संस्कारको ३ वर्षको अवधिभित्र नै ज्यापु समुदायमा छोराहरुको ब्रतबन्धको संस्कार पुरा गरि सकिएको हुनु पर्दछ । ब्रतबन्धको संस्कार पूर्ण नभएसम्म ज्यापु जातिका छोराहरुलाई धिमे बाजा सिकाउन योग्य ठहरिएको हुँदैन । यस्तोे ब्रतबन्धको परम्परा पूरा भएपछि मात्र धिमे बाजाको लागि योग्य ठहरिएका हुन्छ । यस परम्परा पछि सबभन्दा पहिले छोरा मान्छेहरुलाई सिकाइने सीप नै धिमे बाजाकोे सीप हो ।








