समाजको अज्ञानता र सरकारको कमजोरीका कारण संक्रमण बढ्यो : उमेश पाण्डे

कोरोनाको महामारी बढेसँगै नेपाल सरकारले विभिन्न अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याएको छ । यसै क्रममा बालाजु अवस्थित जनमैत्री अस्पताललाई पनि नेपाल सरकारको विशेष आग्रहमा कोभिड–१९ विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको छ । यस अस्पतालले पु¥याउँदै आइरहेको सेवा सुविधाका बारे मेरो साप्ताहिकका लागि रत्न काजी महर्जनका साथमा मनोजरत्न शाही र शरण डंगोलले अस्पतालका सञ्चालक एवम् व्यवस्थापक उमेश पाण्डेसँग गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

  • जनमैत्री अस्पतालले के कस्तो सेवा सुविधा प्रदान गरिरहेको छ ?

अहिले हामीसँग विविध सेवाहरु छैनन् । कोभिड–१९ का बिरामीहरुका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा हामीसँग रहेका १०० बेड संचालनमा ल्याएका छौं । सरकारले तोकेको मापदण्ड अनुसार हामीले सञ्चालन गरिरहेका छौं । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी पोजेटिभ रिपोर्ट आएका विरामीहरु मन्त्रालयको निर्देशन अनुसार हामीकहाँ आउनु हुन्छ । मन्त्रालयले एउटा मापदण्ड दिएको छ । त्यही मापदण्डभित्र रहेर हामीले काम गरिरहेका छौं । हामीकहाँ डबल क्याबिन मात्रै छ । अट्याच्ड बाथरुम छ । तातोचिसो पानीको व्यवस्था छ । विरामीहरुलाई हामीले चार पटक खाना खुवाउने व्यवस्था गरेका छौं । डाक्टर, नर्स र स्वास्थ्य सहयोगीहरु भित्रै बस्नुहुन्छ । उहाँहरुको लागि पनि छुट्टै खानाको व्यवस्था गरिएको छ ।
भदौ १५ गतेबाट हामीले सेवा सुरु गरेका हौं । हालसम्ममा १२६ जना यहाँबाट निको भएर गइसक्नुभएको छ । आईसीयू र भेन्टिलेटरको सेवा हामीले दिइरहेका छैनौं । अक्सिजनको व्यवस्था भने हामीसँग छ । अक्सिजन र एन्टिबायोटिकबाट निको हुन सक्ने विरामीहरु हामीले लिन्छौं । यस बाहेक थप उपचार आवश्यक पर्ने देखिएमा मन्त्रालयसँगकै सहकार्यमा फलाना विरामीको यो अवस्था छ, उहाँलाई कहाँ रिफर गर्ने भन्ने अनुमतिकै आधारमा उहाँहरुकै सहयोगमा विभिन्न आईसीयू भएका अस्पतालहरुमा रिफर गर्नुहुन्छ ।
एक महिनाको अवधिमा अहिले हाम्रो अस्पतालमा ६० जना विरामी भर्ना हुनुभएको छ । हामीले आजसम्ममा जम्मा ४ जनालाई थप उपचारका लागि रिफर गरेका छौं ।

  • कोरोना संक्रमण अहिले कस्तो अवस्थामा रहेको छ ?

कोरोना संक्रमणको कुरामा कतिपय कुराहरु लापरवाहीकै छन् । लापरवाहीकै कारणले पहिले यो देखियो । अलि कति यसमा नेपाल सरकारको परीक्षण गरिने ठाउँहरुमा पनि कमि देखिन्छ । मोबाइलमा पोजेटिभ नेगेटिभको म्यासेज आउँछ । नेपालमा अँग्रेजी नबुझ्ने धेरै आमा–बुबाहरु, बच्चाहरु, कृषकहरु हुनुहुन्छ । उहाँहरु मोबाइलमा आएको म्यासेज पढ्न सक्नु हुन्न । अस्ति एक जना ड्राइभर भाइ आउनु भएको थियो । उहाँको मोबाइलमा एक हप्ता अगाडि नै पोजेटिभ भनेर केन्द्रीय ल्याबबाट म्यासेज गएको छ । तर उहाँले त्यो म्यासेज बुझ्नु भएन । उहाँलाई अप्ठेरो महसूूस भएपछि हामीकहाँ उपचारका लागि आउनु भयो । उहाँलाई सोध्दा इङ्गलिस आउँदैन भन्नु भयो । उहाँको परिवारलाई पनि हामीले पीसीआर परीक्षण गरायौं । तर भाग्यवश परिवारमा पोजेटिभ देखिएन । उहाँ बिहानै उठेर बाहिर हिँडुने र राति घरमा गएर छुट्टै सुत्ने गर्नुहुँदो रहेछ, जसले घरमा सर्न पाएन । यसैकारण समाजको अज्ञानता, सरकारको पनि कमिकमजोरीका कारण संक्रमण बढ्यो भन्ने मैले अनुभव गरेको छु ।

  • कोभिड–१९बाट धेरैजसो बालबालिका र वृद्धवृद्धालाई गा¥हो बनाउने देखिन्छ । जनमैत्री अस्पतालले यसको लागि कस्तो व्यवस्था गरेको छ ?

हामीकहाँ आउनु भएका ८९ वर्षका आमा पनि निको भएर जानु भएको छ । अहिले हेर्ने हो भने वीर अस्पताल पनि कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको छ । वीरकै डाक्टर तथा नर्सहरु पनि आइसोलेशनका लागि यहाँ भर्ना भइरहनु भएको छ । उमेर हदकै समस्या भने देखिएको छैन । प्रोभिजन हे¥यो भने सबैभन्दा बढी गर्भवती, बच्चा र बुढाबुढी भनिएको छ, बिरामीको मात्रा हे¥यो भने त्यो छैन । कम छ । अहिले हाम्रो अस्पतालमा भर्ना भएकाहरु पनि २० देखि ६० वर्ष उमेरभित्रकै हुनुहुन्छ । हामी कम्युनिटी बेसमा काम गर्ने टीम छौं । मेडिकल डाक्टर र नर्सहरु सेवाका लागि २४ सै घण्टा भित्रै बस्नु हुन्छ । १५–१५ दिनमा उहाँहरुको डिउटी चेन्ज हुन्छ । विज्ञ डाक्टरहरु बिहान साँझ आएर रिपोर्टहरु हेर्नुहुन्छ । उहाँहरुकै सल्लाहमा औषधी उपचार गर्दै आएका छौं । आजसम्म जनमैत्री अस्पतालबाट नरमाइलो खबर बाहिर पठाउनु परेको छैन ।

  • जनमैत्री अस्पतालले क्रिटिकल अवस्थाका विरामीहरुलाई भर्ना लिँदैन भन्ने पनि गुनासो सुनिन्छ नि ?

मसँग अहिले आईसीयू र भेन्टिलेटर छैन र म चलाउँदिन त्यो भन्दा तलको केशहरु मात्र मकहाँ रिफर गरी दिनुस् भनेर मन्त्रालयसँग पनि मैले यही कुरा राखेको हो । अहिले पनि हामीसँग एक्सपर्ट सामानहरु नभएका कारणले त्यसमा लागेका छैनौं । आईसीयू र भेन्टिलेटरहरु छैनन् । आइसीयूमा भएका पुराना मेसिनहरुलाई मैले बायोमेट्रिकमा देखाएँ, एनेस्थेसियन र भाइरोलोजिष्ट डाक्टरहरुलाई देखाएपछि यी मेशिनले धोका दिन सक्छन् भनेपछि किन अनावश्यक रिस्क लिने भनेर मैले चलाएको छैन । बजारमा भेन्टिलेटरका लागि आवश्यक सामग्री खोज्दा पाइएन । अहिले पनि मैले प्रयास गरिरहेको छु । हामीले विदेशमा अर्डर गरेका छौं त्यो आयो भने सञ्चालनमा आउनेछ । हामीसँग जनशक्तिको कमी छैन ।

  • कहिलेबाट आईसीयू सञ्चालनमा ल्याउनु हुन्छ ?

आइसीयू र भेन्टिलेटर मैले त्यति ठूलो प्राथमिकतामा राखेको छैन । किनकि अर्डर गरेको छु जर्मनमा । त्यहाँबाट सामान नआईकन यो गर्छु, त्यो गर्छु भनेर धोका दिनु जरुरी छैन । त्यसैले आफूले जे सकिन्छ त्यो पहिल्यै भनिदिएको हुँ ।

  • सामान्यतया एक जना आइसोलेशनमा बस्ने व्यक्तिले दिनको कति खर्च गर्नुपर्छ ?

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पताल भर्ना हुनुभयो भने सरकारले केही रकम दिने भनेको छ । साधारण औषधी उपचार, खाना र तातो चिसो पानीको व्यवस्था गर्नका लागि नेपाल सरकारले एक जनाको लागि तीन हजार पाँच सय रुपैयाँ दिने भनेको छ । तर मैले एक महिना सञ्चालन गर्दा त्यो रकम प्राप्त गरेको छैन । पीपीई नलगाई बिरामीको छेऊमा जानु हुँदैन । प्रत्येक विरामीको जाँचपछि लगाएको ग्लोब परिवर्तन गर्नुपर्छ । खर्च बढी छ । हाम्रा स्टाफहरु पनि सुरक्षित हुनुपर्यो ।

  • अहिले अस्पतालले नै यी खर्च गरिरहेको हो ?

अहिलेसम्म हामीले गरिरहेका छौं । नेपाल सरकारले हामीलाई दिने भनेको हो । स्वास्थ्य मन्त्रालयले सायद दिनु हुन्छ । अहिले महिना नपुगेर पनि नदिएको हुन सक्छ । पेश्की माग पनि गरेको छु ।

  • भर्ना भएको विरामीले कति शुल्क तिर्नु पर्ने हुन्छ ?

प्रत्येक विरामीका लागि दिनको तीन हजार पाँच सय रुपैयाँ हो । यो रकम सरकारले नै दिने भएकाले विरामीले तिर्नु पर्दैन । औषधी उपचार र खाना खुवाउने पुरै जिम्मेवारी हाम्रो रह्यो । रेखदेख, हेरचाह हामीले नै गर्ने भयो । यसैगरी अक्सिजन प्रयोग गर्नुपर्ने विरामीहरुका लागि हामीसँग अक्सिजनको पूर्ण सुविधा छ । विरामीहरुलाई श्वासप्रश्वासमा कठिनाई भएमा हामी अक्सिजन चलाउने गर्दछौं । अहिले पनि २०–२२ जना अक्सिजनमा हुनुहुन्छ । अक्सिजनमा रहेका विरामीको छुट्टै रकम दिने भनिएको छ । अहिले नेपाल सरकारले तीनवटा दर निर्धारण गरेको छ । जनरल वेडमा तीन हजार पाँच सय, अक्सिजनमा राख्नुपर्नेहरुको सात हजार रहेको छ भने आईसीयू र भेन्टिलेटरमा राख्नु परेमा दैनिक १५ हजार दिने भनिएको छ । यो नेपाल सरकारले निर्धारण गरेको दर हो । सबै अस्पतालहरुमा एउटै दर हो । प्राइभेट अस्पतालहरुले धेरै नै बढी लिएको स्न्नमा आएको छ । उनीहरुले सकेसम्म बढी पैसा असुल गरिसकेपछि अन्त रिफर गर्ने गरेको पनि देखियो । मैले यस्तो प्रवृत्ति रोक्न आग्रह गरेको छु । अन्तिम अवस्थामा पारेर जहाँ पायो त्यहाँ पठाउने प्रवृत्ति नियन्त्रण गर्नु प¥यो भन्ने आग्रह गरेको छु ।

  • अहिले जनमैत्रीमा कोभिडका विरामीहरुले निःशुल्क सेवा पाइरहेका छन् त ?

हो । अहिले हामीले अर्को एउटा सुविधा पनि दिँदै आएका छौं । हाम्रो अस्पताल भर्ना भएको १० दिन भइसकेपछि पुनः कोभिड परिक्षणका लागि आग्रह गर्दा अहिले भिडभाडका कारण गर्न नसक्ने बताएको छ । सरकारले पीसीआर परिक्षणको लागि दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर नीजि प्रयोगशालाहरुले तीन हजार आठ सय भन्दा कममा गरिरहेका छैनन् । मैले एउटा नीजि ल्याबसँग समन्वय गरेर दुई हजारमै परीक्षण गर्न सहमत गराएको छु । किनभने १० दिनमा हाम्रा स्टाफहरुको पनि परीक्षण गराउनु पर्दछ । बिरामीहरुको पनि डिस्चार्ज गर्नु पूर्व परीक्षण गराउनु पर्ने हुन्छ । कसैको घरमा डेरा गरेर बसेको हुन्छ । घरमा जाँदा अस्पताल बसेको र अस्पतालबाट कोरोना निको भएको प्रमाण दिएको खण्डमा घरपतिले पनि स्वागत गरेर राख्छन् । नभए लोग्नेले स्वास्नीलाई समेत विश्वास नगर्ने अवस्था रहेको छ । परीक्षणका लागि दुई हजार र स्वाब संकलनमा आउनेका लागि प्रति व्यक्ति सय रुपैयाँ गरेर दुई हजार एक सय रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको छु । यसरी परिक्षण गर्दा पोजिटिभ आयो भने १४ दिन नै राख्ने र नेगेटिभ आएमा १० दिनमा नै हामीले घर पठाउने गर्दै आएका छौं । हामीकहाँ परीक्षण गराएर पोजेटिभ आएकाहरुलाई काउन्सिलिङ्ग गरेर घरमै बस्ने वातावरण भए घरमै बस्न आग्रह गर्छौैं । घरमा बस्ने वातावरण नभएको खण्डमा अस्पतालमा सरकारले निर्धारण गरेको तीन हजार पाँच सय रुपैयाँमा पनि सकेसम्म कन्सिडर गरेर राख्ने गरेका छौं । अहिले भएका आइसोलेसनहरु हेर्नु हुन्छ भने जनमैत्री अस्पताल जति अपडेट भएको आइसोलेशन कुनै पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध