ओली सरकारको फासीवादी गन्तव्य
दुई तिहाइ बहुमतको डबल नेकपाका नेता खड्गप्रसाद (शर्मा) ओली नेतृत्वको सरकार गठन भए लगत्तैदेखि हरेक क्षेत्रमा विवादित बन्दै गइरहेको छ । यो सरकार चारैतिरबाट असफल समेत भइरहेको र यसको सर्वत्र विरोध पनि भइरहेको छ । जनविरोधी कामहरु र जनतामाथि दमन गर्ने कामले गर्दा ओली सरकार जनताका बिचमा अलोकप्रिय बनिरहेको छ भने कम्युनिष्ट पार्टीप्रति जनतामा विकर्षण पैदा गराउने काम पनि यो सरकारले गरिरहेको छ ।
प्रधानमन्त्रीको काम गर्ने शैली हेर्दा राम्रो मान्छेलाई भन्दा पनि आफ्नोे मान्छे आफ्नो नाता गोता पर्नेहरुलाई काखी च्याप्ने काम गरिरहेको देखिन्छ । आफ्नालाई मन्त्री पदमा नियुक्ति गरिदिने, इमान्दार कर्मचारीलाई सम्मान गर्नु कता हो कता भ्रष्टाचारी र कमिनसखोरलाई सम्मान दिने काम भइरहेको छ । यसको ज्वलन्त उदाहरणका रुपमा हालै सम्पन्न छैठौं संविधान दिवसका अवसरमा आफ्ना निकटका चाकडीबाजहरुलाई नै मानपदवी र अलंकारद्वारा सम्मान गर्ने कामलाई लिन सकिन्छ ।
जनता अब त्यति अशिक्षित छैनन् । डबल नेकपा सरकारले यो कुरा बुझ्न आवश्यक भइ सकेको छ, आफ्ना गल्ती कमेजारीलाई सच्याएर समयमै सुधार गर्नु पर्ने बेला भइसकेको छ । सरकारको कार्यशैली जनपक्षिय बन्नु पर्नेमा जनविरोधी र पछिल्लो कालमा फासीवादी गन्तव्यतिर गइरहेको देखिन्छ । आफ्नो पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीद्वारा संरक्षण गरेर जुलुस गर्न दिइएको छ भने विरोधमा उत्रिनेहरुलाई लाठी प्रहार गरेर ढाल्ने काम भइरहेको छ ।
फाँसीवादी हिटलर शैलीबाट शासन सत्ता सञ्चालन गर्न ओलीले अभ्यास गरिरहेका जस्तो देखिन थालेको छ । जनतालाई विरोधमा बोल्नै नदिने शैली हिटलरको शैली हो । आफ्नो पार्टीका हनुमानहरु बाहेक अरु कसैलाई पनि मान्छेको रुपमा देख्न नसक्ने ओली सरकारको कार्यशैलीले हिटलरको फासीवादी गन्तव्य लिइरहेको छ भन्ने सकिन्छ ।
ओलीले नेवार समुदायको धर्ममाथि सांघातिक हमला गरे । नेवारहरुको संस्कृति समाप्त पार्ने अभियानका रुपमा ओलीले गुथि परम्परालाई समाप्त गर्ने प्रयास गरे ।
नेवार समुदायबाट व्यापक विरोध भएपछि ओली सरकार गुठी मास्ने अभियानबाट पछि हट्न बाध्य भए । तर पनि नेवारहरुको धर्ममाथि गरिने आक्रमणले निरन्तरता पाइरहेको छ ।
पछिल्लो पटक ललितपुरको रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा सरकारबाट गरिएको अवरोध र दमनले ओली सरकारको नियतलाई स्पष्ट बनाएको छ । यसले ओली हिटलरको फासीवादी गन्तव्यमै अगाडि बढिरहेको थप पुष्टी गर्दछ ।
इतिहास साक्षी छ, संसारकै शक्तिशाली मानिएका जर्मनमा जन्मिएका हिटलरको शासन पतन भयो, उनको अन्त्यका लागि स्टालिन अनिवार्य पात्र हुनुहुन्थ्यो, इतिहासले त्यही जीवन्त घटना दुनियाँलाई पाठका रुपमा छोडेर गएको छ । हिटलरको उदय पनि राष्ट्रवाद र समाजवादकै आवरणमा भएको थियो । फासिवादको कुनै विचार हुदैन, तर विचारको आवरणमा विकास हुन्छ ।
कतै दुई तिहाइ बहुमतको सत्तारुढ दल कम्युनिस्टहरुको बदनाम गर्ने जिम्मेवारी सहित राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुद्वारा परिचालित भएको गोटी त होइन ? देशभक्त नेपाली जनताका सामु प्रश्न खडा भएको छ ।
विना हातहतियार शान्तिपुर्ण भेला भएर आवाज उठाउने हक संविधानको (भाग–३ मौलिक हक र कर्तब्य १७) ले दिएको छ । अहिले दिनानु दिन आफ्नो बिचार र अभिव्यक्ति राख्दा नागरिकहरु माथी दमन भइ रहेको छ ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने अभियन्ता मनिष श्रेष्ठमाथि प्रहरीले असोज ९ गते शुक्रबार माइतीघरमा निर्ममतापूर्वक लाठी बजा¥यो । लाठी प्रहार तथा बन्दुकको नाल तथा फलामको डंडाले घोचिघोचि रक्ताम्य हुने गरि बेहोस बनाएको दृश्य सञ्चार माध्यमहरुमा देखियो । तर यस्तो निर्दयी घटना सञ्चार माध्यममा सार्वजनिक हुँदा पनि प्रधानमन्त्री ओली अथवा उनको नेतृत्वको सरकारले गल्ती गरेको हुँ भन्ने महशुस समेत गरेको पाइएन ।
देशका लागि उज्यालो चाहियो अभियानकै महिला अभियन्ता रमिला कार्कीमाथि पनि अभ्रद्र व्यवहार गरि लछार पछार पार्दै गोप्य अंगमा समेत पुरुष सुरक्षाकर्मीहरुले स्पर्श गरेर बेहोश हुने गरी कुटपिट गरेको देखियो । यस्तो घटना हुँदा पनि सरकारको मौनता नै देखियो ।
देशका विभिन्न क्षेत्रमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइए तापनि प्रहरी प्रधान कार्यालयले यस विषयमा गम्भीरतापूर्वक छानविन गरेको पाइएन । सरकारको गन्तव्य फासीवादलाई संरक्षण गर्ने तर्पैm लक्षित भएको संकेत यो घटनाले पनि गरिरहेको छ ।
ओली सरकारको यस्तो फासीवादी गन्तव्य पुनरावलोकन हुन र सच्चिएर पार्टीको आर्दश अनुरुप अगाडि बढ्न जरुरी छ, जनतालाई धोका दिन पाइदैन ।








