आज क्षमा पुजा गरिँदै

यस वर्ष काेभिड–१९ महामारीका कारण विगतका वर्षहरूमा जस्तै रथ जात्रा सम्पन्न गर्न नसकिने भएका कारण आज क्षमा पूजा गरिने भएकाे छ । ललितपुर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू घाेषणा गरेकाे कारण बुंगद्यःका पानेजुहरू मात्र बसेर क्षमा पुजा गरिन लागिएकाे जात्रासँग सम्बन्धित बाराही गुठीका नाइके दिलकुमार बाराहीले मेराे एंगललाई जानकारी गराउनु भयाे ।

यसअघि हिजाे राताेमछिन्द्रनाथ बुंगद्यःकाे जात्रासँग सम्बन्धित १९ जातिय खलःपुचःहरूले भाद्र १८ गते ललितपुर पूच्वमा रथ तान्ने क्रममा आफूहरूकाे कुनै संलग्नता नरहेकाे एक विज्ञप्ती जारी गर्दै जनाएकाे छ ।

बुंगद्यः जात्रा व्यवस्थापन कार्यदल, १९ सै जातीय खलःपुचःका संयाेजक चन्द्र महर्जनका साथै १९ वटै खलःका अध्यक्षहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ, ‘हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारणले उत्पन्न विषम परिस्थितिमा सरकारले स्थिति अझ भयावह नहोस भन्नाका लागि जारी गरिएको निषेधाज्ञाकै समयमा निषेधाज्ञाको अवज्ञा गर्दै कुनै आधिकारीकता बिना असम्बन्धित समूहबाट वर्षा र सहकालको देवता श्री रातो मच्छिन्न नाथको रथ तान्न प्रयास गरिएको र सो दौरान स्थिति अराजक बनेको प्रति ललितपुरका १९ वटा जातिय खलः पुचहरुको ध्यानाकर्षण भएको र उक्त अवान्छनिय कार्यको घोर भर्त्सना गर्दै खेद व्यक्त गर्दछ।’

विश्वभरी नै कोभिड-१९को कारणले विविध समस्या आईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै श्री रातो मच्छिन्द्रनाथको रथयात्रालाई सम्पन्न गर्न प्रयासरत रहने कममा २०७० भाद्र ११ गते ज्यापु समाज यलमा साेसँग सम्बन्धित सरोकारवालाहरुको विशेष बैठकमा मलमास अगावै जात्रा सम्पन्न गर्ने र त्यसको लागि गुठी संस्थानको प्रधान कार्यालयबाट विज्ञहरूसँग परामर्श गरी आएको निचोड उपर जातिय खलपुचःहरू, रकमीहरु लगायत अन्य सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोही अनुसार रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न गर्ने भद्र सहमति भएको सम्बन्धित सबैमा जानकारी विज्ञप्ती मार्फत दिइएकाे छ । 

विज्ञप्तीमा भनिएकाे छ, ‘सोही सहमति अनुसार द्रुत गतिमा कार्य भइरहेको समयमा अनियन्त्रित हूल आई अव्यवस्थित रुपमा रथ तान्ने प्रयत्न भएकोमा पुनः एक पटक खेद प्रकट गर्दै थी रातो मच्छिन्द्रनाथको जात्रालाई सुव्यवस्थित रुपमा सम्पन्न गर्ने कार्यमा सहयोग गरिदिनुहुन समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछौ।’

हाल कोरोना भाइरस (कोभिड १९)को कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी यो साल मात्र सम्बन्धित सबैकाे सहमतिमा श्री रातो मच्छिन्द्रनाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने र पछिल्ला वर्षहरुमा विगतका वर्षहरुमा झैं जात्रा सुसम्पन्न गरिने भएकाे छ । 

१९ जातिय खलः पुचःद्वारा दिएकाे जानकारी अनुसार अब भाद्र २१ गते सोर्हखुट्टेपाटीसम्म रथ तान्ने र छ्वय्लाबु गर्ने, भाद्र २२ गते भुज्याय् मनाउने र साइत हेर्ने त्यसपछि सम्भवतः भाद्र २६ गते रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने भएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध