पत्रकार लामालाई धम्की
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बागमती प्रदेश पार्षद कैलाश लामालाई समाचार संकलन तथा प्रसारणको विषयलाई लिएर केही व्यक्तिहरुले सामाजिक संजाल तथा टेलिफोन मार्फत गालीगलौज तथा धम्की दिएको घटनाप्रति फोनिज बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
फाेनिजले एक विज्ञप्ति जारी गर्दै भनेकाे छ, दोलखा जिल्लाको तामाकोशी नदीमा गैर कानूनी तरिकाले नदी उत्खनन् गरेको विषयमा समाचार प्रकाशन/प्रसारण गरेको विषयमा सगरमाथा टेलिभिजन तथा गोरखापत्र दैनिकमा कार्यरत् पत्रकार कैलाश लामालाई केही व्यक्तिहरुले समाचारकै विषयलाई लिएर धम्की दिनू दुखद् विषय भएको र प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो । त्यसरी प्रकाशित/प्रसारित समाचारप्रति चित्त नबुझेमा आवश्यक प्रक्रियाको लागि कानुनी बाटो खुल्ला हुँदाहुँदै पनि समाचार लेखेकै कारण धम्कि दिनु र सो विषयलाई लिएर जातिय सवाल समेत जोडेर गालीगलौज गरी जातिय विभेद गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
फाेनिजले घटनामा संलग्नमाथि छानविन गरी दोषीलाई कडा कारवाही गर्न र पत्रकारलाई सुरक्षित र स्वतन्त्र रुपमा काम गर्ने वातावरण निर्माणका लागि स्थानीय प्रशासन समक्ष माग गरेको छ ।








