उपमेयरको नेतृत्वमा बजार अनुगमन
काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले खाद्य गुणस्तर लगायतका मापदण्ड पूरा नभएका खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो ।
भाद्र १३ गते शनिवार अनुगमनका क्रममा कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ ।
उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङको करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो ।
ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एविसि खाद्य स्टोरमा पठाउन लागेको थियो । खाद्य सामाग्रीमा हुनु पर्ने पर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान गोदाममा फिर्ता गराइएको थियो ।
ट्रेडर्ससँगै शनिवार कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरिएको थियो । त्यस क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो । त्यस क्षेत्रका अधिकांश पसल बन्द अवस्थामा थिए । सम्पर्क गरेर आउने ग्राहकका लागि खोलिएका पसल आधा खोलिएका थिए । अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो ।
अनुगमनपछि प्रतिक्रिया दिँदै उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो, ‘खाद्य गुणस्तरमा ध्यान पु¥याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्छ । हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन । बिषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ ।’
उहाँले भन्नुभयो, ‘सबैले गलत गरेका छन् भन्ने होइन, जटिल अवस्थामा जोखिम मोलेरै भए पनि सामाग्री ढुवानी गरेकाकारण सहरी जीवन सरल भएको छ । तर, बिषम परिस्थितिको फाइदा उठाउनेबाट भने बच्नै पर्छ । यसका लागि हामी अनुगमनलाई नियमित गर्छौं ।’
त्रुटी पाइएको ट्रेडर्सलाई कारवाहीको प्रक्रिया अघि बढाइने उहाँले बताउनु भएको छ ।
कामपा कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका छन् । यी सबैलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो ।
सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम् मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएको औंल्याउँदै उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधब तिमिल्सेना भन्नुहुन्छ, ‘उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या छ । बिल नै जारी नगरी खरिद बिक्री गर्दा व्यापारमा बिकृति मौलायो ।’
थोक पसलपछि कालीमाटी चोकमा रहेका खाद्य पसलको अनुगमन गरिसकेपछि दुवैतिरको मूल्य तुलना गर्दै तिमिल्सेनाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
सामानको तौल र लेबलका बिषयमा ध्यान दिन नसक्नु, व्यवसाय दर्ता र नविकरणमा ध्यान नदिनु, मूल्य सूची नराख्नु, खरिद बिक्री जारी नगर्नु कालीमाटी चोकमा रहेका खाद्यपसलहरुको साझा कमजोरी देखियो । म्याद सकिएका सामाग्री के गर्नुहुन्छ? प्रश्नको स्पष्ट उत्तर दिन नसक्नु व्यापारीहरुको अर्को कमजोरी हो ।
महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमन गरिरहेको छ । यस अघि कालीमाटी र बल्खु तरकारी बजार हेरिएको थियो ।








