चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोध गर्दै भेला

मेरो संवाददाता
काठमाडौं÷चोभारवासीहरुले त्यहाँ निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण रोक्न माग गर्दै विभिन्न कार्यक्रमहरु गर्ने भएका छन् ।
चोभार संरक्षण समितिले दिएको जानकारीका अनुसार यस सम्बन्धमा हिजो एक भेला आयोजना गरिएको थियो । सो भेलाले सम्पुर्ण पीडितहरुको एकताबद्ध सशक्त शान्तिपूर्ण आन्दोलनद्वारा मात्रै चोभारवासीको माग पूरा हुने निश्कर्ष निकालिएको जनाइएको छ ।
समितिले स्थानीय चोभारवासीले परापुर्वकालदेखि धार्मिक, साँस्कृतिक, खेलकुद तथा दैनिक कृषि उपजमा प्रयोग गरिँदै आएको २४१ रोपनी सार्वजनिक जग्गा सरकारले विभिन्न संघसंस्थालाई वितरण गरेकोले तत्काल सो कार्य रोकी स्थानीय जनताको अविच्छिन्न उपभोगको सुनिश्चितता गर्ने माग अगाडि सारेको छ ।
यसका साथै सुख्खा बन्दरगाहको लागि भन्दै गैरकानुनी ढंगले बिना मुआब्जा कब्जा गरिएको २१५ रोपनी जग्गा तत्काल फिर्ता लिने र चोभारका जनताले हिमाल सिमेन्ट कारखानाको लागि दिएको ८१६ रोपनी जग्गा सिमेन्ट कारखाना बन्द भएकोले साविक जग्गा धनीलाई ससम्मान फिर्ता गराउन माग गरेका छन् ।
समितिले चोभारमा अवस्थित आदिनाथ, जलबिनायक मन्दिरको प्राचीन धार्मिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरुको महत्त्व संरक्षण गर्न, ऐतिहासिक मञ्जुश्री गुफा, गल्छी, झोलुङ्गे पुल, बागमतीको सभ्यता जोगाउन, जलबिनायक र आदिनाथ मन्दिरसँग जोडीएको न्यखु जात्रा, निर्जला व्रत, कार्तिक मेला, दिपंखा यात्रा, कृष्ण जात्रा, न्हवँ जात्रा जस्ता ऐतिहासिक, धार्मिक, साँस्कृतिक अमुर्त सम्पदाको रक्षा गर्न र मञ्जुश्री पार्क, मञ्जुश्री प्रतिमाको आकर्षणले बन्दै गरेको पर्यापर्यटनको बिकासलाई तिब्र पार्नका लागि सुख्खा बन्दरगाहको बिरोध गर्नुपरेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध