सफलताको कथा : सामान्य लापरवाहीले संकटमा परेकाे जीवनकाे सफल शल्यक्रिया
मानिसको जीवन अमूल्य छ । तर जीवनमा हुने सानातिना घटनाले कति ठूलो समस्या निम्त्याउन सक्छ भन्ने कुरामा हामीले सँधै ख्याल राख्नुपर्ने हुन्छ । यहाँ म एउटा सत्यघटनामा आधारित कुरा प्रस्तुत गर्न गइरहेको छु । जसमा एक व्यक्तिको सानो लापरवाहीका कारण अर्को व्यक्तिको जीवन नै संकटमा पर्न गएको र चिकित्सकको अथक प्रयासबाट उनको जीवन बचाउन सफल भएको सफलताको कथा प्रस्तुत गर्न गइरहेको छु ।
मिति २०८१ असोज १३ गते साँझको समयमा एक खाजा घरमा खाजा खान गएका ग्राहक र खाजाघरका साहुजिका बीचमा ख्यालख्यालमै घटेको एउटा दुर्घटनाले मानिसको जीवन–मरणको दोसाँधमा पु¥यायो । विवादका क्रममा खाजाघरका साहुले प्रहार गरेको चक्कुले लागेर ग्राहक सख्त घाइते हुन पुगे ।
अनायासमै भएको घटना लगत्तै खाना खान आएका ग्राहकलाई खाजाघरकै संचालक समेत भएर तत्काल सुमेरु अस्पताल पु¥याइएको थियो ।
साँझ ७ बजेको समयमा अस्पतालमा घाइते पुग्दा अत्यधिक रक्तश्रावका कारण विरामीको अवस्था अत्यन्त दयनीय भइसकेको थियो । यस्तो गम्भीर अवस्थामा सुमेरु अस्पतालमा त्यतिबेला कार्यरत डा. गोरखनाथ मिश्रको समूहले तत्काल अपरेशनको कार्य अगाडि बढायो ।
चक्कु लागेर पेट चिरी आन्द्राभुडी सबै बाहिर आएको र आन्द्रामा समेत घाउ भएको अवस्थामा आएका विरामीको जीवन बचाउनु डाक्टरको लागि पनि चुनौति थियो । पहिलो चरणको अपरेशन साँझ सात बजेबाट सुरु गरी विरामीलाई निरन्तर निगरानीमा राख्दै ७ घण्टा लामो अपरेशन गरिएको थियो । आन्द्रामा घाउ भएका कारणले पहिलो चरणको अपरेशनमा दिसाको लागि इलेस्टोमी ब्याग राखिएको थियो ।
आन्द्रामा घाउ भएको विरामी भएका कारणले घाइतेलाई औषधी र आईभी मार्फत् मात्र उपचार गराइँदै आएको थियो । यस क्रममा अपरेशन भएको पाँचौं दिनमा उनको पेटमा एनास्टोमोटिक लिक भएको पाइएको थियो । यसपछि औषधीमा मात्र बचाइएका उनलाई १९ औं दिनबाट मात्र मुखबाट खाना खुवाउन सुरु गरियो ।
२५ औं दिनमा उनको एब्डोमिनल ड्रेन निकालियो । यसपछि डिस्चार्ज गरिएका उनको चार महिनापछि पुनः डा. गोरखनाथ मिश्रकै नेतृत्वमा अपरेशन गरेर उपचार गरेको थियो । यस अपरेशन पछि उनको पेटमा राखिएको इलेस्टोमी ब्याग पनि निकालिएको थियो ।
यसरी सुमेरु अस्पतालका डाक्टरहरुको अथक प्रयासले दुई चरणमा अपरेशन र निरन्तर पाँच महिनाको उपचारपछि उनलाई पूर्णरुपमा स्वस्थ बनाउन सफल भएको छ ।
उपचारको क्रममा खानपानमा पनि विशेष ध्यान पु¥याइएको थियो । उनलाई सुमेरु अस्पतालमा न्यूट्रिशनिष्टका रुपमा कार्यरत सुर्जलक्ष्मी महर्जनले खानपानको निर्देशन दिएको थियो । पेटकै समस्या भएका कारणले उनलाई पहिले झोल खानेकुराहरु मात्र खुवाएर पोषणको पूर्ति गरिएको थियो ।
यसरी ५ महिनासम्मको अथक प्रयासले एक जीवनमरणको दोसाँधमा परेको व्यक्तिलाई पूर्णरुपमा स्वस्थ्य बनाएर पठाउन सुमेरु अस्पताल सफल भएको छ । यस कार्यमा विरामीको आत्मविश्वास र हौसलाले पनि ठूलो भूमिका खेलेको छ । विरामीको हौसला र आत्मविश्वासकै कारण पेटको आन्द्रामा समेत घाउ भएका विरामी स्वस्थ हुन सफल भएको छ ।
(लेखक क्लिनिकल डाइटिसियन हुनुहुन्छ ।)








