तानाबहालका ठकुलहरू श्रेष्ठमा परिणत भएको बारे छोटो चिनारी

नेपालका प्राचीन ऐतिहासिक पानाहरू पल्टाउँदा अनेकन विषयमा पाउन सकिन्छ । त्यसमध्ये तानाबाहा पनि तारिणी बहालका तारिनी देवीको पुरातन ऐतिहासिक प्रमुख विषय हो ।
तारिणी देवीको गुठियारहरू यानी श्रेष्ठहरू (मखनका स्थानीय श्रेष्ठ ठकुल जातका श्रेष्ठ) हुन गएको बारेमा सोधखोज गर्न पूरक प्रमाण स्पष्टता भेटाउन त्यति सजिलो छैन । तर प्रमाण खोज्दै जाँदा तारिणीको मन्दिर तथा तलेजु भवानी मन्दिरको (तारिणी देवी तलेजु भवानीकी दिदी भन्ने लोक कथन छ) सम्बन्ध पनि जोडिन पुग्दछ । प्रथम त तारिणी बहालको मुख्य विषय हुँदा चिनारी गर्न केही विषयमा पनि अनुसरण गर्नुपर्दछ। साधारणतया यस मन्दिरको ११९९औं वर्ष उत्सव यही गरेको २०८२ जेष्ठमा पर्ने बोध हुन आएको छ यसको गहिरो अनुसन्धान भने हुनसकेको छैन बाँकी नै छ ।
सामान्यतया तानादेवीको परिसरमा उल्लेख भएका ऐतिहासिक बारे कलिगत ३९२७ वर्ष ने. सं. ७५२, ७५४, ७९४, ७९५, तथा वि. सं. १६२३, १८५१, १९८८ साथै अन्य आदि फरक फरक मितिमा फरक फरक राजाहरूको शासनकालीन निर्माण तथा सुधार गरिएको सन्दर्भ देखिन्छ। प्राज्ञिक ऐतिहासिक सन्दर्भ हेर्दा किराती, लिच्छवि, मल्ल र शाहकालमा थपघट सुधार देखिन्छ ।
पाँचौ शताब्दीका लिच्छवी राजा मानदेवको बाजे शंकरदेवले उर्दी दिएको पाइन्छ कि उक्त तारिणी देवीको मन्दिरभन्दा अग्लो घर कसैले निर्माण नगर्नु । यस अनुरोधको उर्दीबाट अनेक घटनाबाट बचाउ हुने देखिन्छ । शंकरदेवको आफ्नो पारिवारिक कुल देवताको लागि मखन टोलमा यो मन्दिर निर्माण गरेको ऐतिहासिक उल्लेख रहेको पाइन्छ ।
हनुमानढोका राजदरवार यानि तलेजु र तारिणीदेवीको बारेमा दरबार तथा बहालभित्र सबै शाक्त सनातन कौल (कुलायन हिन्दु) संस्कृतिका छन् भन्ने गरिन्छ । अन्य स्थानीय नामाकरण भगवती देवी यानी नवदुर्गा (दश महाविद्या÷अस्त मातृका÷अजिमा) आदि नामकरणको छुट्टै मान्यता रहेको देखिन्छ । त्यस नामाकरणको स्वरूप अलग्ग अलग्गै महत्व र मान्यता देखिन्छ । शाक्त (शक्ति) कौल प्रणालीमा मुख्यतया मूर्त स्वरूपको हुने गरिन्न, आदिमकालमा । हरेकको मूर्त स्वरूप आदि पछि विकास हुँदै आएको भन्ने सत्य मान्नै पर्दछ । खास शाक्त हिन्दु भन्नाले परम्परा अनुरुप कलश शुभ र खड्ग शक्तिको प्रतिबिम्ब हो ।
तारिणी देवीको मन्दिर प्रतिस्थापन पूर्व हो वा तलेजु (तुलजा) भवानीको मन्दिर यकिन भन्न गा¥हो छ । तारिणीदेवीको मन्दिर राजा शंकरदेव समकालमा भएको छ भने तलेजु भवानी वि. सं. १३८१÷०८२ तिर मात्र देखापरेको इतिहास देखाइएको छ । यो सहज रूपले मान्न सकिँदैन । तलेजु भवानी लिच्छविकालभन्दा अधिक पूर्वमा नेपालमा देखिन्छ । हनुमान ढोका दरबार लिच्छविकालमा पनि साधारणतया राजा महाराजा रहेको देखिन्छ । हाल कालभैरवको बायाँ पश्चिमतर्फको नेपाल प्रहरीले केही समय अघिसम्म उपभोग गरीरहेको जीर्ण भवन रहेको स्थानमा लिच्छविकालमा न्यायालय थियो भन्ने गरिन्छ । तलेजु (तुलजा) भवानीलाई समय समयको राज्यकालमा राज्य सञ्चालन गर्न शक्ति प्राप्तिको लागि मान्ने गरिन्छ । तथापि समय समयमा फरक नामले पुकारेको पाइन्छ । जस्तै तलेजु, तुलजा, राजदेवी, मनमानेश्वरी भनी फरक फरक राज्यकालमा फरक नामले पुकारिने गरेको देखिन्छ ।
हरिसिंहदेव राज्यच्यूट भई तलेजु भवानी नेपाल ल्याउँदा दोलखा नपुग्दै तीन पाटनमा मृत्यु भयो । पछि देवलदेवी सहित भक्तपुरमा पुग्दा तलेजु भवानी ल्याएको नभई यन्त्र पद्धति दुई लाइनको यसरी उल्लेख गरेको पाइन्छ । “रामो व्यक्ति राजा पुरुवाः (१) अलर्कश्य धन प्राप्य नान्यदेवो भविष्यती (२) । एक सानो बट्टामा राखी ल्याएको मात्र भन्ने इतिहासबाट देखिन्छ ।
वास्तविकतामा भन्ने हो भने हरिसिंहदेव भन्दा नौ दश पुस्ता पहिले नै नेपालमा तलेजु भवानी भएको मान्न सकिन्छ । अझ किराँतकालमै तलेजु भएको अनुमान रहेको छ । किनकि प्राप्त जानकारी अनुसार कान्तिपुरको हाडीगाउँमा किराती राजालाई लिच्छवीहरूले धपाएर यहाँ आइ २ वर्ष ६ महिना साधारण राज्य गरी विस्थापित भएको इतिहासविद स्व. धनबज्र बज्राचार्यको अभिलेखमा पढेको थिएँ । त्यही हाडीगाउँमा तलेजु भवानीलाई किरात र लिच्छवी पछि मल्लकाल सुरु हुँदा भक्तपुरमा राज्य सर्दा त्यसै हाडीगाउँबाट साधना गरी तलेजु भवानी सवारी गराइएको देखिन्छ । प्रमाणको स्वरूपमा आजभन्दा २५÷३० वर्ष पहिले भक्तपुर राजदरबारबाट राजाको पूजा भनी प्रत्येक नयाँ वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन पारी (क) कालो बोका (ख) हाँस (ग) फुल (अण्डा)सँगै बलिको पूजा सामग्री ल्याई बलिपूजा गरिन्छ । तलेजु भवानीको मन्दिरमा पुजा गरीसकेपछि त्यस पूजाको प्रसाद लगी राजालाई ग्रहण गराउँदछ ।
प्रायले कान्तिपुरमा महेन्द्र मल्लकालिन मात्र जग हाली राजदेवी याने तलेजु भवानी मन्दिर निर्माण ग¥यो भन्ने हाँस्यास्पद मात्र हुने गरिन्छ । हो महेन्द्र मल्लले जनताले भात खाएको नखाएको देख्न गा¥हो पर्दा तात्कालीन कालको स्वरुपको ठूलो र अग्लो मन्दिरको रुपमा नवनिर्मित गराएको देखिन्छ । सानो रुपको मन्दिरबाट ठूलो मन्दिरको रुपमा । पछि पूवकालीन इतिहास बिर्सेर भक्तपुरबाट ल्याइएको इतिहास निर्माण हुन गएको सिद्ध हुन्छ ।
अब तलेजु मन्दिर अग्लो ठूलो भएको निर्माणको कुरा यसरी दिइन्छ । दिनभरी मन्दिरको पेटीसम्म बनाएको हुन्छ । रात बिती बिहान हुँदा निर्माण भएको सबै भत्काइएको याने भत्केको देखिन्छ । दिनानुदिन यस्तै हुँदा दरवारबाट ज्योतिषी देखाउँदा तारिणीदेवी रिसाएकोले भएको भन्दा क्षमापूजा गरी पछि ठूलो याने अग्लो देवलको तलेजुको मन्दिर महेन्द्र मल्ल राजाको समकालमा बनाइएको भने हो । हनुमानढोका राजदरवार परिसरतिरको तारिणीदेवी याने तानाबहालमा गुठीगाना पुजा चलाई (उहाँहरुको गुरु वा पुरोहित छैन भन्दछ, तर एक निवेदन धेरै बेर अगाडि मखनका पुरानो रैथाने श्रेष्ठहरु तानाबहालमा देवाली देवी भन्ने गरेको पढेको थिएँ । राजा रणबहादुर कालको कागजात, त्यसमा गुठीमा मूल पुजारीको रुपमा तलेजुकै मूलपुजारी कर्माचार्य याने तलेजु आचाः राखी गुठी निर्माण गरिएको थियो ।) दिनहुँ पूजापाठ गर्ने स्यस्यः जातका श्रेष्ठथर पूर्वकालमा ठकूल झंगलका सन्तति मानिन्छ ….. राजपरिवार (कविला राज्यको रुपमा लिइएको देखिन्छ ।)का थकुल भनी धुक्कले भन्ने गरिन्छ ।
ठकुलबाट श्रेष्ठ भएको एकातिर पुन एकीकरण गर्ने गोर्खाको राजा पृथ्वीनारायण (लिच्छवी राज्इकालमा एकीकरण भएको ग्रेट नेपाल बने । यक्ष मल्ल राजा हुँदासम्म गोर्खादेखि अन्य ठाउँमा भक्तपुर केन्द्र राज्य थिए । पछि द्रव्य शाहकालीन बाइसे चौबिसे राज्यको रुपमा गोरखा पनि उदय भए । प्रताप मल्लको समयसम्म खासा केरुङ्ग हाल चीनको भागसम्म नेपाल राज्यभित्र पर्दछ । पृथ्वीनारायणकालीन सन् १७१७ सम्म सिक्किम नेपालको भूभाग मेघालय (हाल भारतको, हुन त सन् १८१६को सुगौली सन्धीबाट नेपालको भूभाग लाखौं वर्गहेक्टर गुमेको इतिहास स्पष्ट छ ।) थियो । त्यस मेघालयमा नेपालकै नागरि द्वितीय कालु पाण्डे भन्नेले अन्कन्टार जंगलमा एक्लैले बस्ती बसालेको थियो । पछि उनीसँग सम्पर्कमा आई नेपाली तथा भारतीयहरु समेत बस्ती रहन गएको प्रागिक ऐतिहासिक नभएको पनि होइन । पछि शक्तिको स्वरुपले भारतले हस्तक्षेप हुँदै आएको प्रष्ट देखिन्छ ।
कान्तिपुरका राजा जयप्रकाश मल्ल र गोर्खाका राजा पृथ्वीनारायण शाहसँग दुईपटकसम्म सन्धी सम्झौता भएको थियो । दुवै पटक राजा पृथ्वीनारायणद्वारा भंग गरे । पछि गरीब सानो गोरखा राज्यबाट ठूलो राज्य नेपाल निर्माणको लागि भनी याने वि.सं. २०५२ देखि २०६२÷०६३ को क्रान्तिमा झैं भन्दा भयंकर ठाउँठाउँमा नाकाबन्दी गरी उपत्यकालाई थुनछेक गरी राज्य जित्न १९०१ मा नुवाकोट जितेपछि कीर्तिपुर पनि जिते । त्यसपछि कान्तिपुर भित्र पसी टेकुबाट तीन सप्ताहसम्म युद्ध गर्दा पनि विजय गर्न नसकी कंकेश्वरी ढोकाटोलबाट (त्यतातिर पहरा राख्ने गरिएको थिएन, मल्लकालमा) पसे । त्यसबेला कुमारी (इन्द्रजात्रा) जात्रा मनाइरहेको बेला प्रवेश गरी चोखाछेँ गल्ली पुग्दा त्यस स्थानमा राजोपाध्यायहरु डरले घर छाडी भागेको देखेपछि पृथ्वीनारायण राजा साथको दफाले राजोपाध्यायहरुको घरमा प्रवेश गरी कोठाकोठामा छिरेर गरगहा, नगदसँगै घरबास सर्वस्व लिएको थियो । त्यसपछि गणेश, भेलु (भैरव) र कुमारीको रथसँगसँगै जात्रा मनाउँदै हिँडिरहेका विद्व राजा जयप्रकाश मल्ल जैसीदेवल पश्चिम कोहिटी कोण सडकमा पुग्दा पृथ्वीनारायण राजा र उसको दफाले याने हल भन्दा जयप्रकाश मल्ल पछाडि मोडी हेर्दा गोर्खे राजा पृथ्वीनारायण र उसका फौजी रहेछ । पृथ्वीनारायण त्यहाँबाट मोडी ज्याबहालको एक ज्यापुको घरमा रात बसे । भोलिपल्ट जयप्रकाश मल्ल दरवारभित्र एकता हुन नसक्दा पाटन गई राजा तेजनरसिंह मल्लसँग भक्तपुर पुगी रणजीत मल्लसँग भेट गरे । वि.सं. १८२५ मा कान्तिपुर र ललितपुर हात पारे । यसको केही समयपछि १८२६ मा भक्तपुर पनि हात पारे ।
कुनै पनि क्रान्ति हुलदंगा, नाकाबन्दी तथा युद्ध हुँदा जस्तोसुकै विधान भए पनि अनियमित तरिकाले सिधातर्फकालाई अलि फट्याइँ र ढोका दिने तरिकाले जितिने राजनीतिक पप्लु छक्का पञ्चा हानिन्छ नै, आजको राजनीतिमा ।
पृथ्वीनारायणले पुनःएकीकरण गरे भने हनुमानढोका दरवारभित्र पुगी जयप्रकाश मल्लको राजगद्दीमा बसे । त्यसपछि जयप्रकाश मल्लको नजिक रहने काजी भाइभारदारहरुलाई बसन्तपुर मल्ल दरवारमा खुलुवा दिइ भोज गराए । ढोका बन्द गरी तेल छसी आगजनी गरी आफूलाई भर नपर्दो देखिने व्यक्तिहरु सखाप पारे, निर्धक्क रहनलाई । जयप्रकाश मल्लका नाता कुटुम्ब तथा आफन्त व्यक्तिहरु बच्न सकेकाहरु भागी अन्यत्र गई श्रेष्ठ थर कायम गरी बसेको भन्ने ऐतिहासिक पनि देखिन्छ ।
वि.सं. २०३८ सालतिरसम्म जयप्रकाश मल्लको वर्षेनी श्राद्धको लागि आर्थिक निकासा लिन आउने कुरा त्यस मन्त्रालयका तत्कालीन नासु इतिहासविद् स्व. तीर्थलाल (नघःभनी) राजभण्डारीले मलाई बताउनुभएको थियो । उहाँले मलाई अड्डामा बोलाई कागजातहरु देखाउनु भएको ताजै सम्झना छ ।
अर्को पाटाका कुरा जयप्रकाश मल्लले एक समय दरवारमा नेपाली प्रजाले वर्षभरी दुःख गरी चाडबाड, गुठी गानाबाट वर्षभरीको आर्थिक रित्याउँदछ । त्यसकारण संस्कृति छोट्याउने र जात भनेको पुरुष नारी मात्र हुन् । त्यसैले करबर बलजफ्टी नभई जुन जातको पनि वरबधुको मनपसन्द भए विवाह कर्ममा बाँधिन सकिन्छ । भनी सुन्य समयमा राजा जयप्रकाशले भनेका थिए । यस कुराको शब्द चुहिएर नुवाकोट पु¥याए, एक गैर नेवार फाँसिको सजाँय पाएका भारदार रातको समयमा भागी नुवाकोटमा पुगे । त्यस व्यक्तिलाई राजा पृथ्वीनारायणकहाँ पु¥याए । माथि उल्लेख्य कुरा बताएपछि उसलाई माफी दी राखे । उपत्यकामा कमजोर पारे । तिमीहरुका राजा जयप्रकाशले जात पदच्यूट गरिनेछ भनी हल्ला फिजाई द¥हो कुटनीति फिजाए । पछि उपत्यकाको राजगद्दीमा बसैपछि एक बैठकमा पहिला जयप्रकाश मल्ले भने झैं करकापमा नभई राजीखुसीमा उपत्यकाको पाँचथरी र छथरीसँग गोरखाबाट ल्याइएका एकथरी पाँच जात समूहकालाई पाँचथरी र छ जातको एक समूहलाई छ थर बनाई उपत्यकाका नेवालसँग छोरीबेटी र छोरासँग विवाह गर्नु गराउन त्यस बैठकमा प्रस्ताव राखे । यस प्रस्तावलाई हनुमानढोका राजदरवारका भाइभार तथा तत्कालीन धर्मनेताहरुले उक्त विषयक प्रस्ताव असफल बनाए । हामी राजालाई नारायण अवतार मान्दछौं, तर बुहारी, ज्वाइँको रुपमा भित्राउने र भित्राउन दिनु मनासिब मान्दैनौं ? तिमीहरुको नात कुन कुन हो हामी मान्न सक्दैनौं भन्दा राजा पृथ्वीनारायणको अनुहार निहुरिएपछि नेपालभाषामा चलीरहेको रोकी खस भाषा याने नेपाली भाषा उपत्यकाका जनताले नबुझे पनि दवावले समय बित्दै जाँदा एक समय दोषारोपन गरी ठकुल (ठकुरी)हरुलाई पनि आफ्नो राज्यनीतिमा दक्खल हुने सक्ने विचार गरी बिजसम्म नराख्ने भनी मारकाट गरी सखाप पारे  । ८÷१० वर्षकादेखि ५५÷५८ वर्षसम्मकाहरु १६ सय जति व्यक्तिहरुलाई मृत्युदण्डको रुपमा काटिएको थियो ।
पछि बाँकि याने बचेकाहरु आ–आफ्नो घर छाडी अन्यत्र भागी ठकूलबाट श्रेष्ठ थर परिणत गरी बसेको प्रष्ट देखिन्छ । त्यसपछि श्रेष्ठ ठहरिँदै गएको ऐतिहासिक देखिन्छ ।
राजनीतिक सञ्जालमा नीति नियमको पालना हुन सक्दैन भन्ने देखाउँदछ समयको परिस्थितिले । वि.सं. २००७ साल प्रजातन्त्रदेखि २०६२÷०६३ गृहयुद्ध याने क्रान्तिसम्मको सँगै यस वर्तमान राज्य सरकार एमाले र माओवादी दुई दल मर्ज भई नेपाल कम्प्यूनिष्ट पार्टी नामकरणको सरकारसम्ममा पनि हुनु पर्ने गुण नभएको र वर्तमानमा सरकार पनि ठूला दल काँग्रेस र एमाले मिली सरकार संचालन गरिरहेको छ भने अर्कोले विपक्षमा रही प्रेसरको रुपमा रहन्छ । कुनै पनि राष्ट्रमा नेपालमा मिलिभगतमा रहे । नेपालका कुनै पनि पुराना बलियो दलहरुको नेताहरु कोठाभित्र हात मिलाई पालै पालो बाँडिचुँडी गरी पालैपालो राज्य चलाई रहन्छ । नेपाली जनता भनौं या नागरिकहरु पनि लोभलालचमा परी कुनै न कुनै दलमा फसिरहेको देखिन्छ । खास भन्नुपर्दा नागरिकहरु अथवा आँखा उघारी नयाँ मोरालिटीमा जानु उपयुक्त थान्दछु, यो पंक्तिकार । अहिलेसम्म यस्तो नभै अर्कै हावादारी गुण हुन गएको अचम्म मान्नुपर्ने कुनै कारण छैन । राज्यसत्ता पाउन शक्ति बल धुत्र्याइँ तथा पैसाले थिचेर आफ्नो हालीमुहालीले हातमा पार्नु विश्व राजनीति खेल नै भइसकेको हुँदा अचम्म मान्नु पर्दैन ।
बितेका इतिहासको लहरा छोपेर छोपिन्न जति छोपे पनि समय अनुसार उदाङ्गीन जान्छ नै । सत्यलाई जति दुःख कष्ट दिँदासम्म रोक्न र छेक्न नसक्ने विश्व राजनीतिकले देखाई रहेको तपाइँ हामीले देखेका सुनेका र भोगेका अनुभव कसैबाट लुकेको छैन, छर्लङ्ग देखिरहेको छ ।
माथि उल्लेख्य अनुसार ठकुलहरु दमन परेकोबाट श्रेष्ठमा परिणत भएको छर्लङ्ग देखिन्छ । अस्तु ।
(श्रोतको रुपमा विभिन्न पुस्तक, लेख, ऐतिहासिक दस्तावेजहरुको अध्ययनको रुपमा विद्व धनबज्र बज्राचार्य, डा. महेशराज पन्त, दिनेशराज पन्त, डा. साफल्य अमात्य अनेक साथै मदनरामको लेख रचना समेत अध्ययनद्वारा तयार भएको सूचित गरिन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध