द मिस्टिक किचेन अफ नेपाल विमोचित
लामो समयदेखि खानाको अध्ययनमा जुटीरहनु भएका शेफ विक्रम वैद्यको पाककला सम्बन्धी पुस्तक “द मिस्टिक किचेन्स अफ नेपाल” शनिवार एक कार्यक्रमका बीच कीर्तिपुरको ससः त्वाः रेष्टुरेण्टमा विमोचन गरिएको छ ।
नेपालका लोकप्रिय र प्रचलित खानाका परिकारहरुका साथै नेपाली संस्कृति र इतिहासलाई पनि कोट्याइएको पुस्तक विमोचन वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले नेवार परिकार आफूलाई अत्यन्त मनपर्ने परिकारहरु मध्येमा पर्ने र नेवार समुदायको परिकारलाई नै पुस्तकमा विशेष महत्वका साथ प्रस्तुत गर्नुभएकोले लेखक एवम् शेफ वैद्यलाई धन्यवाद दिनुभयो । उहाँले नेवार परिकार खाना मात्र नभई नेवार संस्कृतिको अभिन्न अंग भएको र यसको सुन्दर प्रस्तुति पुस्तकमा गरिएको चर्चा गर्नुभयो ।
यसैगरी गोरखा दक्षिणबाहुबाट सम्मानित शेफ गोविन्द नरसिंह केसीले २० वर्ष अगाडि बज्र होटलमा लेखक वैद्यसँग भेट भएको र सोही भेटलाई स्मरण गरेर आफूलाई कार्यक्रममा बोलाएकोले आफू कृतज्ञ भएको बताउनु भयो । उहाँले आफूले पनि नेवार परिकार बनाउने भएता पनि खानाको वास्तविक स्वाद आफूले दिन नसक्ने बताउनु भयो । उहाँले यो पुस्तकले नेपालका विविध खानाहरुको जानकारी लिन सकिने बताउनुभयो ।
आफ्नो पुस्तकको बारेमा बोल्दै शेफ वैद्यले आफ्नो पुस्तक २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम भएको बताउनु भयो । “दि मिस्टिक किचेन्स अफ नेपाल” भनेको कुकबुक मात्र होइन – यो माटो र समुदायको आत्माको माध्यमबाट खाना, संस्कृति र समुदाय बीचको गहिरो सम्बन्धको संगम हो,” वैद्यले भने । सोही अवसरमा उहाँले प्रतिष्ठित जेम्स ब्रेड अवार्डका लागि आफ्नो पुस्तकको मनोनयन स्वीकृत भएको पनि जानकारी दिनु भयो ।
पुस्तकमा नेपालको विविध परिदृश्य र संस्कृतिसँग सम्बन्धित १४० भन्दा बढी मौलिक रेसिपीहरु समावेश गरिएको छ जसमा परिकारहरूको सांस्कृतिक र ऐतिहासिक महत्त्वमा अन्तरदृष्टिपूर्ण टिप्पणी छ ।
दुई दशकको अनुभवका साथ सम्मानित पाक शिक्षाविद् शेफ वैद्यले नेपाली क्लासिक र विभिन्न जातीय समुदायका लुकेका व्यञ्जनहरूलाई सम्मान गर्नको लागि यस संग्रहलाई धेरै मेहनतका साथ प्रस्तुत गर्नुभएको छ ।
शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको ीभ ऋयचमयल द्यभिग र इचभनयल ऋगष्लिबचथ क्ष्लकतष्तगतभ जस्ता संस्थाहरूमा आफ्नो काम मार्फत अरूलाई सिकाउन र प्रेरणा दिन आफ्नो क्यारियरको धेरैजसो समय बिताउनु भएको छ ।
कार्यक्रममा लेखकका बुबा हरिहरानन्द वैद्य, सडक पीडित संघर्ष समितिका संयोजक सुमन साय्मि, गुथि संस्थानका प्रशासकीय प्रमुख शैलेश राज कुँवर, सांस्कृतिक अभियन्ता जेबी तुलाधर, लोकप्रिय गायक रोजमान महर्जन, रोमिन श्रेष्ठ लगायतले पुस्तक र लेखकका बारेमा मन्तव्य राख्नुभएको थियो ।
बा फाउण्डेशनको आयोजना र रमाइलो इभेन्ट्सको व्यवस्थापनमा भएको कार्यक्रममा ससः त्वाःका संचालक फिरोज सिंहको विशेष उपस्थिति रहेको थियो ।








