मखं बहालमा कुमारी बारे चर्चा

मखं बहाःका रुपमा जनमानसमा परिचित रत्नकीर्ति महाविहारमा स्थापना गरिएको रत्नकीर्ति महाविहार अध्ययन मण्डलको आयोजनामा कुमारी सम्बन्धी गोष्ठीको आयोजना गरिएको छ ।
सुजन विलास बज्राचार्यले कुमारीको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा बौद्धविद्वान् प्रा. मदनसेन बज्राचार्य र पूर्वकुमारीका बुबा एवम् बौद्धविद्वान प्रतापमान शाक्यले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै बज्राचार्यले कुमारी बौद्ध र हिन्दु दुवैले साझा रुपमा मान्दै आएको देवी भएता पनि दुवैले मान्ने दर्शन भने फरक रहेको उल्लेख गर्नुभएको थियो । उहाँले बौद्ध समुदायले कुमारीलाई प्रज्ञाको रुपमा बुझेर सोही अनुरुप पूजा आराधना गर्दै आएको तथा हिन्दू समुदायले अष्टमातृका मध्ये एक मातृका र महादेवको पुत्र कुमारको शक्तिको रुपमा पूजा गर्दै आएको बताउनु भएको थियो ।


कार्यपत्रका आफ्नो टिप्पणी प्रस्तुत गर्नुुहुँदै बौद्धविद्वान् प्रा. मदनसेन बज्राचार्यले महिला शुद्धताको प्रतिक भएको र त्यसमा पनि बालिका निष्कपट र निश्छल हुने बताउनु भयो । उहाँले कुमारीलाई शक्तिको प्रतिकको रुपमा मानिँदै आएको बताउनु भयो ।


यसैगरी बौद्धविद्वान् प्रतापमान शाक्यले काठमाडौंको कुमारी घरको आसन कहिल्यै पनि खालि गर्न नहुने भएका कारण निश्चित उमेर पुगेपछि नयाँ कुमारी चयन गरेर आसनमा विराजमान गराई कुमारीको विदाई गरिने बताउनु भयो । उहाँले कुमारीको पूजा गरिँदा हिन्दू विधि अनुरुप कर्माचार्यले र बौद्धविधि अनुरुप लाय्कू गुरुजु (राजगुरुजु)ले कुमारीको नित्य पूजा गर्ने प्रचलन रहेको बताउनु भयो ।


सोही कार्यक्रममा मखं बहाःबाट एसईई परीक्षामा सहभागी भएर उत्तीर्ण हुनुभएका दुई जनालाई सम्मान गरिएको थियो । मखं बहालबाट यस वर्ष शाची बज्राचार्य र स्वस्तिका बज्राचार्यले एसईई उत्तीर्ण गरेका हुन् । उत्तीर्ण भएकाहरुलाई सम्मान पत्रका साथै खादा, फूलमाला र नगदसहित सम्मान गरिएको थियो ।
अध्ययन मण्डलका अध्यक्ष जितेन्द्रविलास बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रमको संचालन रमिता बज्राचार्यले गर्नुभएको थियो भने लजुना बज्राचार्यले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध